पूर्व राजाको स्वरमा स्वर मिलाउँदै हस्ताक्षर संकलन

पूर्व राजाको स्वरमा स्वर मिलाउँदै हस्ताक्षर संकलन

शक्तिमा फर्किने पूर्वराजा ज्ञानेन्द्र शाहको अभिलाषा र आन्दोलनमा उत्रन गरेको आह्वानप्रति समर्थन जनाउँदै राजावादीहरुले हस्ताक्षर अभियान शुरु गरेका छन् । 

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष तथा पूर्वमन्त्री केशरबहादुर विष्टको अगुवाइमा आज काठमाडौँमा हस्ताक्षर संकलन गरिएको हो । आज पहिलो दिन बिभिन्न राजनीतिक दल, अभियन्ता, धार्मिक तथा पेशागत संघ संस्थाका २ सय जनाले गद्दीमा फर्किने पूर्वराजाको चाहनालाई हार्दिकतापूर्वक स्वागत गर्दै हस्ताक्षर गरेको बताइएको छ । 

पूर्वराजाको सम्बोधनपछि राष्ट्रियताको सम्वर्द्धन, राष्ट्रिय एकता, स्वतन्त्रता र स्वाभिमानलगायत धर्म संस्कृतिको रक्षाका लागि राजसंस्थाको अपरिहार्यता छ भन्ने अटल आस्था, विश्वास र भरोशा झन् टड्कारो महसुस भएको दाबी गर्दै हस्ताक्षर अभियानमा जुट्न आम नागरिकलाई अपील गरिएको छ । 

विभिन्न समूहमा छरिएर रहेका राजावादीहरुले ज्ञानेन्द्रको आह्वान मुताबिक छिट्टै सडकमा ओर्लने सहमतिसमेत गरेका छन् ।  

प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै फागुन ६ गते पूर्वराजा ज्ञानेन्द्रले व्यवस्था परिवर्तनका लागि संघर्षमा उत्रिन आह्वान गरेका थिए । त्यसप्रति पूर्वपञ्चहरुको पार्टी राप्रपा, राप्रपा नेपाललगायत राजावादी संघ संस्था र स्वतन्त्र व्यक्तिहरुले समर्थन जनाएका छन् ।

टिप्पणीहरू