सत्तापक्षको झिनो आशमा अर्काे तुषारापात

सत्तापक्षको झिनो आशमा अर्काे तुषारापात
सुन्नुहोस्

सत्ता पक्षका दुई दल जसपा र लोसपाले अध्यादेशमा भोट नहाल्ने निर्णय गरेपछि अप्ठेरोमा परेको सरकारलाई नेकपा एकीकृत समाजवादीले पनि जिल्याइदिएको छ । 

भूमि अध्यादेश अस्वीकार गर्ने उपेन्द्र यादव र महन्थ ठाकुरको निर्णयपछि सत्ता साझेदार नेपाली काँग्रेसले एकीकृत समाजवादीलाई फकाउने योजना बनाएको थियो । सभापति शेरबहादुर देउवाले अध्यक्ष माधवकुमार नेपाललाई भेटेर अध्यादेशको पक्षमा मतदान गर्न आग्रहसमेत गरेका थिए । तर, नेकपा एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएका अध्यादेशको विपक्षमा भोट हाल्ने औपचारिक निर्णय गरेको छ । 

संसद्लाई छलेर त्रुटिपूर्ण ढंगले जारी गरिएका अध्यादेशको विपक्षमा उभिने निर्णय भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासलाई मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको सो पार्टीको ठम्याइ छ । 

प्रतिनिधिसभामा झण्डै दुई तिहाइको अवस्थामा रहेको दुईदलीय गठबन्धन सरकार राष्ट्रिय सभामा स्पष्ट अल्पमतमा छ । जसका कारण संसद्को हिउँदे अधिवेशन शुरु भएको दुई सातासम्म सदनमा अध्यादेश निर्णयार्थ पेश हुन सकेको छैन । राष्ट्रिय सभामा एकीकृत समाजवादीको ८ सिट छ ।

टिप्पणीहरू