अघिल्लो दिन ‘फर्स्ट लेडी’ को, भोलिपल्ट प्रधानमन्त्रीको पुस्तक आउँदै

अघिल्लो दिन ‘फर्स्ट लेडी’ को, भोलिपल्ट प्रधानमन्त्रीको पुस्तक आउँदै
सुन्नुहोस्

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको औपचारिक शैक्षिक योग्यता निम्न माध्यमिक तहसम्म मात्रै हो । तर पनि उहाँले स्वःअध्ययनमा निकै रुची राखेको पाइन्छ । 

उमेरले ७३ वर्ष पुग्नुभएका प्रधानमन्त्री ओलीले उच्च शिक्षाको पाठ्यक्रम अध्ययन नगरे पनि अतिरिक्त ज्ञानवर्धकपुस्तकहरु प्रशस्त पढेको निकटस्थहरु बेलाबखत चर्चा गर्छन् । विभिन्न विश्वविद्यालयले उहाँलाई प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधीले त्यस्तो चर्चालाई थप बल पुर्याएको छ ।

तेह्रथुमको एउटा गाउँमा जन्मिनुभएका ओली कसरी यो मुलुकमा चौथो पटक प्रधानमन्त्री बन्नुभयो ? अब उहाँको जीवनीमा त्यो सबै समेटिने भएको छ । आगामी आइतबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक विमोचन गर्न लागिएको छ ।

अल्मेकी पब्लिकेशनले बजारमा ल्याउन लागेको उक्त संस्मरण–जीवनीलाई गणेश पाण्डेले शब्दमा उतारेका हुन् । पत्रकार तथा वृत्तचित्र निर्माता/निर्देशक पाण्डे एमाले निकट प्रेस चौतारीमा आबद्ध छन् । प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनमा उक्त पुस्तकको विमोचन तय भएको प्रकाशन गृहले जनाएको छ । 

फागुन ११ गते बिहान ११ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभामा आयोजना गर्न लागिएको विमोचन समारोहको प्रमुख अतिथिको रुपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याइएको छ । कार्यक्रममा स्वयम् प्रधानमन्त्री वक्ताको रुपमा रहुनुहुने छ ।

उक्त पुस्तक विमोचन हुनुभन्दा एकदिन अघि उहाँकी पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ प्रधानमन्त्रीले सार्वजनिक गर्ने कार्यक्रम छ । उक्त पुस्तकलाई पाणिनि प्रकाशनले बजारमा ल्याउन लागेको हो । राष्ट्रिय सभागृहमै आयोजना हुने उक्त कार्यक्रमको लागि निमन्त्रणासमेत बाँडिसकिएको छ ।

‘बितेका केही महिना मेरो समय पुस्तक लेख्ने काममा बित्यो’, शाक्यले भन्नुभएको छ, ‘जीवनमा बितेका दिनहरूको सम्झना, भोगाइहरुको समीक्षा र अनुभूतिलाई पुस्तकमा समेट्ने प्रयास गरेकी छु, कार्यक्रममा सहभागी हुन सबैलाई मेरो निम्तो छ ।’

‘फर्स्ट लेडी’ समेत रहनुभएकी शाक्यले यसअघि ‘मेरा अनुभूति’ संस्मरण बजारमा ल्याउनुभएको थियो । पुस्तकमा उहाँले प्रधानमन्त्री ओलीसँगको भेट, बिहे, राजनीतिक जीवनका उतारचढावलगायत विषयलाई समेट्नुभएको छ ।

टिप्पणीहरू