प्रधानमन्त्रीलाई कोरिया लाने होली वाइनको कोशिश जारी
एमाले सांसद तथा नेकपा परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रधानमन्त्री केपी शर्मा वली र सभामुख देवराज घिमिरेलाई दक्षिण कोरियामा आयोजना गर्न लागिएको शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउन प्रयासरत छन् । शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा. चार्ल्स एस. याङलाई प्रधानमन्त्रीसँग भेट गराइसकेका उनले सभामुखसँग पनि भेट गराएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
दुबै छलफल र भेटवार्तामा होली वाइनका नामले परिचित ढकाल पनि सहभागी थिए । दक्षिण कोरियामा आगामी अप्रिल १० देखि १४ सम्म इसाई धर्मावलम्बीहरुको शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । सम्मेलनमा प्रधानमन्त्री ओलीलाई विशेष अतिथि र सभामुखलाई अतिथिको निम्तो दिइएको छ ।
डा. चार्ल्स कोरियाको सुनहक पिस प्राइज फाउण्डेशनका अध्यक्ष हुन् । ढकालले यसअघि पनि यस्तै कार्यक्रममा एमाले अध्यक्ष तथा अन्य दलका नेताहरुलाई कम्बोडिया पुर्याइसकेका छन् । यिनै ढकालले केपी ओलीको अघिल्लो कार्यकालमा भएभरका जनप्रतिनिधिलाई हायाल होटलमा भेला गराएर होली वाइन चखाएका थिए । त्यस्तै त्यस्तै कामको पुरस्कारस्वरुप फरक दलको अध्यक्ष भैकन पनि एमालेले उनलाई आफ्नो समानुपातिक साँसद बनाएको छ ।

टिप्पणीहरू