बन्दुकको शानमा रमाउने यी माननीयलाई कारबाही हुनु नपर्ने ?

बन्दुकको शानमा रमाउने यी माननीयलाई कारबाही हुनु नपर्ने ?
सुन्नुहोस्

तरबारले केक काटेर जन्मदिन मनाउनेलाई थुन्ने, सामाजिक सञ्जालमा बन्दुक देखाएर समाजमा आतंक मच्चाउन खोज्ने यी माननीयलाई चाँहि कारबाही नगर्ने ? प्रसंग हो,सिके राउत नेतृत्वको जनमत पार्टीबाट पूर्वमन्त्रीसमेत रहिसकेका एक नेताको । जन्मदिनमा हतियारले केक काटेर शान्तिसुरक्षा खलल पार्न खोजेको भन्दै प्रहरीले हालै सात जनालाई नियन्त्रणमा लिएको थियो । 

तर,मन्त्रीजस्तो गरिमामय पदको जिम्मेवारी सम्हालिसकेका जनमतका उपाध्यक्ष अब्दुल खानले बन्दुक बोकेका बडिगार्डलाई दुईतिर राखेर हिँड्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदा पनि सरोकारवालाले उनीसँग सोधपुछ गरेका छैनन् । उनले ‘गुण्डागर्दी’ देखाउन खोजेको भन्दै धेरैले विरोध जनाइरहेका छन् । हातहतियार प्रदर्शन गरेर सामाजिक सञ्जालमार्फत दम्भ देखाउने उनलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग पनि उठेको छ । 

घटना केही दिनअघिको हो । उनी एउटा कार्यक्रममा सहभागी हुन रौतहट पुगेका थिए । सोही क्रममा खान पार्टीका जिल्ला ईञ्चार्ज शेख जमशेदलाई भेट्न उनको घर गए । खानको ईन्ट्री पुरै फिल्मी शैलीमा हुन्छ । जमशेदले हतियारधारी बडिगार्डलाई खानको दुईतिर राखेर स्वागत गर्छन् । कोट प्यान्ट र पकडी लगाएका ती बडिगार्डले खानलाई घर वरपर डुलाउँछन् । 

जमशेद र खान गफिरहँदा उनीहरु बन्दुक बोकेरै उभिरहेका हुन्छन् । सो तस्बिर जमशेदले आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । तर, व्यापक विरोध भएपछि पोष्ट गरेको केही घण्टामै उनले तस्बिर हटाए । बन्दुक देखाएर उनले आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको धेरैको बुझाइ छ । शान्तिसुरक्षामा आघात पुर्याउने उनीहरुलाई कारबाही हुनुपर्ने भनि व्यापक आवाज उठेपछि प्रहरीले बोलाएर सोधपुछ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, रौतहटसँग जमशेदले लाइसेन्सवाला हतियार भएको बताएपछि छोडिदिएको हो । तर, उनीमाथि निगरानी भने जारी छ । उनले आफ्नो दबदबा देखाउनका लागि हतियारको प्रदर्शनी गरेको हुनसक्ने स्थानीय प्रशासनको बुझाइ छ । जिल्ला प्रशासन कार्यालय, रौतहटले उनीमाथि कडा निगरानी राखिएको बताएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले सामाजिक सञ्जालमा बन्दुक प्रदर्शनी गरेको विषयलाई हलुकामा लिन नसकिने बताए । मधेशमा बन्दुक देखाउने संस्कृति भएतापनि सामाजिक सञ्जालमा बन्दुक बोकेको तस्बिर देखाएर त्रास फैलाउन नमिल्ने उनको जिकिर छ । आफ्नो दम देखाउनका लागि बन्दुक बोकेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको हुनसक्ने यादवको अनुमान छ । 

भन्छन्,‘सो भिडियो मेरो नोटिसमा आउनेबित्तिकै मैले एक्सन लिइहाले । उहाँलाई बोलाएर प्रहरीले सोधपुछ गरेको छ । उहाँले लाइसेन्सप्राप्त बन्दुक हो भन्नुभयो । तर, लाइसेन्सप्राप्त भएपनि भिडियो बनाएर सामाजिक सञ्जालमा देखाउन पाइँदैन् । यसले मनोवैज्ञानिक त्रास हुन्छ । म यो विषयमा एकदमै गम्भीर छु । प्रशासनले यो विषयलाई निगरानीमा राखेको छ ।’

त्यस्तै, उनले सुरक्षा समितिको बैठकमा सो कुरा उठाउने बताए । यता, पार्टीका प्रवक्ता शरद यादवले पनि बन्दुकको घटनालाई गम्भीर रुपमा लिएको जनाए । उनी पार्टीको कार्यक्रममा रौतहट नगएको यादवको भनाइ छ । पार्टीका नेताले के गर्छन् ? भनेर पछाडि लाग्न नसकिने बताउँदै उनले खानको पार्टीसँग हाल कुनै सम्पर्क नभएको ठोकुवा गरे । 

जनआस्थासँग उनले भने,‘उहाँ पार्टीको कार्यक्रममा चाँहि जानुभएको होइन् । व्यक्तिगत भिजिटमा जानुभएको हुनसक्छ । उहाँहरुको व्यक्तिगत स्वतन्त्रताको कुरा हुन्छ । उहाँहरु कहाँ–कहाँ जानुहुन्छ, पार्टीलाई थाहा हुँदैन् । के गर्नुहुन्छ, हुँदैन् उहाँहरु आफैं जान्ने–बुझ्ने हुनुहुन्छ । तैपनि हामी सोधपुछ गर्न खोजिरहेका छौं ।’

यता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहेका खानले समाजमा त्रास फैलाउने आफ्नो नियत नभएको प्रष्टीकरण दिए । आफूसँग सरकारले दिएको सुरक्षाकर्मी रहेको उल्लेख गर्दै उनले टिआरपीका लागि केही मिडियाले सो भिडियो हालेर विवादमा तानेको आरोप लगाए । 

बडिगार्डले कम्पाउण्डभित्र बन्दुक बोकेको उनको जिकिर छ । ‘म त्यहाँ एउटा कार्यक्रममा गएको थिएँ । त्यसपछि उहाँले चिया खान घरमा बोलाउनुभयो । उहाँको बडिगार्ड रहेछन् । उहाँहरुले आफ्नो कम्पाउण्डभित्र मात्र बन्दुक बोक्नुभयो । तर, विपक्षी र मिडियाले त्यसलाई ठूलो विषय बनायो । मैले भनेपछि सो भिडियो हटाइसकिएको छ । मैले शान्तिसुरक्षा भंग पार्न खोजेको होइन्’,उनले भने ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई हतियार बोकेर अदालत छिर्न खोजेको आरोपमा प्रहरीले यसअघि पक्राउ गरेको थियो । उनीहरुको हतियार पनि लाइसेन्स प्राप्त नै थियो । तरबारले केक काटेर सामाजिक सञ्जालमा पोष्ट गर्नेलाई प्रहरीलाई भटाभट नियन्त्रणमा लिइरहेको छ । शान्तिसुरक्षा खलल पार्न खोज्ने जोकोहीलाई नछोड्ने बताउँदै आएको प्रहरी पूर्वमन्त्रीको हकमा किन हात बाँधेर बसेको ?
 

टिप्पणीहरू