सरकारी निर्णयको सरकारी अस्पतालमै उपहास

सरकारी निर्णयको सरकारी अस्पतालमै उपहास

काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) का कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका हुन् । राष्ट्रिय स्वास्थ्यकर्मी श्रमिक संगठनको नेतृत्वमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधाको माग गर्दै आजदेखि आन्दोलन थालेका छन् ।

संगठनका अध्यक्ष केशव रोकायाले अस्पताल स्थापनाकालदेखि नै ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुको न्यूनतम पारिश्रमिकसहित सेवासुविधा बढाउनुपर्ने माग गरे । स्वास्थ्य क्षेत्रको काम सम्मानजनक भएको उल्लेख गर्दै उनले भने, ‘सम्मानजनक कामको प्रकृति भएकाले पारिश्रमिक पनि सम्मानजनक हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा आठ घण्टा काम गर्ने कर्मचारीलाई पनि उही पारिश्रमिक र चार घण्टा काम गर्नेलाई पनि समान पारिश्रमिक यो अवस्था सिर्जना नगरियोस् ।’

दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको हकमा उमेर हद नलाग्ने व्यवस्था गरेर तलबसँगै अन्य सुविधा पनि थप गर्नुपर्ने उनको माग छ । अस्पतालको रेडियोलोजी डिपार्टमेण्टका कर्मचारी पंख विकले दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई काम लगाउने तर सेवासुविधा केही नदिने गरेको आरोप लगाए । 

सरकारी मापदण्डअनुसार आफूहरुले सेवासुविधा नपाएको र निर्देशकपिच्छे आफ्ना कर्मचारी नियुक्ति गर्ने प्रवृत्ति बढेकाले आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ । आन्दोलित कर्मचारीहरुले अस्पताललको विनियमावली गठन आदेश संशोधन गर्नुपर्ने, जोखिम भत्ता र सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने, कर्मचारीहरुको श्रेणी र तहबमोजिम पारिश्रमिक र सेवासुविधाको व्यवस्था गर्नुपर्नेलगायत माग राखेका छन् ।

टिप्पणीहरू