कुरा उच्च प्रविधिका, ढर्रा र नतिजा पुरानै

कुरा उच्च प्रविधिका, ढर्रा र नतिजा पुरानै
सुन्नुहोस्

काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर फिल्डमै मापन गर्ने तयारी गरेको छ । शहरमा बिक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने महानगरको तयारी छ । 

जसअनुसार नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरुमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने बताइन्छ । 

यसका लागि उपप्रमुख सुनिता डंगोल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जिवकुमार कर्णसहितका अधिकारीहरुबीच मोबाइल भ्यान सञ्चालन र क्षमता विकासबारे छलफल भएको छ । 

छलफलमा खाद्य स्वच्छताको गुणस्तर नियन्त्रणका लागि महानगरले काम गर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्षमता विकास र प्राविधिक सहयोग उपलब्ध गराउने विषयले प्राथमिकता पाएको जनाइएको छ । 

अहिले महानगरको कृषि तथा पशुपन्छी विभागले सुपथ मुल्यमा गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न नियमित बजार अनुगमन गरिरहेको छ । योसँगै स्वच्छ खाद्य सेवा प्रवद्र्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । 

महानगरका अनुसार क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता, तेस्रो संस्करणमा मिठाइजन्य खाद्य सेवाका उत्पादक तथा बिक्रेतालाई तालिम दिइएको थियो । 

यस्तै, चौथो संस्करणमा होटल, क्याटरिङ् र ब्याङ्क्वेट सेवाका व्यवसायी र पाँचौँ संस्करणमा रैथाने खाना सेवाका उत्पादक र बिक्रेतालाई तालिम दिइयो । बजार अनुगमन र व्यवसायीलाई दिइएको तालिमको नतिजालाई तथ्यमा मापन गर्न मोबाइल भ्यानमार्फत् गुणस्तर परीक्षण कार्यक्रमअगाडि बढाउन लागिएको महानगरको भनाइ छ ।

टिप्पणीहरू