महानगर प्रहरीले राम्रो गर्दैछ भरतपुरमा
प्रस्तुत फोटो नारायणगढ, शहीदचोक स्थित मिलनरोडतर्फको हो, हिजो साँझ साढे छ बजेतिर खिचिएको । पहिले यहाँ यस समयमा सवारीजाम भएर हिँडिसक्नु हुन्थेन । उसै त साँघुरो बाटोमा सडकछेउमै सवारीसाधनहरु पार्किङ गर्नुपरिरहेको अवस्थामा सवारी आवागमनमा अझ अवरोध पुग्नेगरी सडक क्षेत्रमै साईकल, ठेला लगायत सामान बोक्ने अटोरिक्साहरुमा तरकारी, फलफूल, फास्टफुड, जुत्ता–चप्पल, कपडा आदिको व्यापार गरिँदा सवारीसाधन गुड्ने ठाउँ नभएर साँझतिर बाटो बेसरी जाम हुने गरेको थियो ।
प्रायः भारतीयमूलका मान्छेहरुले जति लखेट्दा पनि एकछिन भाग्दै नगरप्रहरीको आँखा छल्दै फेरि आएर अचाक्ली गर्दै आएका थिए । पछिल्लो समय महानगरपालिका कडा रुपमा प्रस्तुत भएर सामानमात्र नभई साईकल, ठेला, रिक्सा समेत उठाएर लग्दै जफत गरी राख्न थालेपछि अहिले बाटो खुला भएको छ । स्थानीयबासी, सटर भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यापारी–व्यवसायी र बाटो हिँड्ने यात्रु–चालक सबैले राहतको सास फेर्न पाएका छन् । पहिले त बेलुका सटर बन्द गरेर घर जान पनि सवारीजाम छिचोल्न अत्यन्तै सकस हुन्थ्यो भन्छन् यहाँका व्यवसायीहरु । पछिल्लो समय महानगरपालिकाले राम्रो गरेको भन्दै बाटो हिँड्न धेरै सहज भएको उनीहरु बताउँछन् ।
मिलनरोड र पारिपट्टि बेलचोकतर्फ पनि बाटो क्लियर हुँदै गएको छ । छ लेनको सडक बनेपछि र महानगर प्रहरीले कडाइ गरेपछि पुलचोक–लायन्सचोक हाइवेखण्डको फुटपाथ र सडकक्षेत्रमा पनि अस्तव्यस्त रुपमा हुँदै आएको अवैध व्यापार अहिले खासै देखिन्न । अरु भित्री सडकहरुमा पनि फाट्टफुट्ट रुपमा सडक व्यापार हुँदै आएपनि पहिलेजस्तो असाध्यै छैन । बाटो खुला भएपछि सडक दुर्घटनाको जोखिम पनि कम भएको छ ।
महानगर प्रहरीले एक महिनाअघि मिलनरोडबाट नियन्त्रणमा लिएका अटोरिक्साहरुलाई अस्तिमात्रै चर्काे जरिवाना गरी छोडिएको छ । रु. १५÷१५ हजार जरिवाना तिराएर चारवटा अटोरिक्सा फिर्ता गरिएको महानगर प्रहरीले बताएको छ । एउटाचाहिँ महानगर कार्यालय परिसरको चौतारोमै थन्किएको छ । उक्त अटोरिक्साको कागजात नआएका कारण छोड्न नसकिएको जनाइएको छ । अरु साईकल र ठेलाहरु भने जफत नै गर्ने कार्यपालिकाको निर्णयानुसार डम्पिङ गरिएको छ ।
अटोरिक्सालाई चाहिँ अहिले एकपटकका लागि भनेर जरिवानामात्रै गरेर छोडिएको, त्योपनि चर्काे र फेरि अर्काेपटक यसरी नै सडकक्षेत्रमा राखेर व्यापार गरेको भेटिए जफत नै गरेर नष्ट गरिने महानगर प्रहरी प्रमुख कृष्णहरि ढकालले बताए ।
नारायणी किनारतर्फ रेडक्रस भवन तल चौतारा ओगटेर राखिएका ठेलाहरुसमेत महानगर प्रहरीले हटाएको जनाएको छ । सडक क्षेत्रबाट धपाएर महानगरपालिका कार्यालयमा दर्ता भई राजस्व तिरेर नारायणी किनारको छेउमा ठेलामा व्यापार गर्न दिइएकोमा केहीले अगाडिपट्टि चौतारोमै ठेला राखेर व्यापार गर्दै आएका थिए । यसले नारायणी किनारमा आउने आगन्तुकहरुलाई विश्राम गर्न बाधा भएको गुनासो आएपछि चौताराबाट ठेलाहरु हटाइएको बताइएको छ ।
भरतपुर महानगरपालिकामा नयाँ सडक निर्माण र विस्तार गरी सडकबत्तीहरु पनि जडान गरिएपछि बाटोको चमकधमक निकै नै बढेको पाइन्छ । सिक्सलेनको फराकिलो सडकमा दुवैतर्फ र बाइपास रोडको बीचमा राति लहरै सडकबत्ती बल्दा सडकसुरक्षा सँगै यहाँको सुन्दरता पनि थपिएको हो । चौबीसकोठी चोकमा वाटर फाउन्टेन व्यवस्थित गरिएको दृश्य झनै रोमाञ्चित देखिन्छ । अब पुलचोक–गोन्द्राङ र बाइपास सडकमा ट्राफिक लाइटसमेत राख्ने तरखर भएको महानगरपालिकाले जनाएको छ ।
महानगर प्रहरीले सडकबत्तीका पोलहरुमा रंगरोगनसमेत गरेका छन् । रंगरोगनले सौन्दर्यकरण त हुने नै भयो । हरियो रंग वातावरणमैत्री पनि भएको र यसले बत्तिएर आउने मोटर, गाडीहरुलाई टल्किएर दुर्घटनाबाट समेत जोगाउन मद्दत गर्ने हुँदा महानगर प्रहरीहरु आफैं कसिएर यो काम गरेको बताइन्छ । चौतारो र चोकका ठूल्ठूला ढुंगाहरुमा हरियो रंग पोतेर सेतो अक्षरले विभिन्न जानकारी र सचेतनामूलक सन्देशहरु पनि लेखिएको छ । महानगर परिसरभित्र पनि ढुंगामा यस्तै रंगाएर लेखेको देख्न सकिन्छ ।
टिप्पणीहरू