विनोद चौधरीको पर्चा : ‘कालो अक्षर भैंसी बराबर’

विभिन्न विवादमा मुछिने गरेका काँग्रेस सांसद तथा व्यापारी विनोद चौधरीले अचम्मको विज्ञप्ति जारी गरेका छन् । हिजोको मितिमा सार्वजनिक गरिएको विज्ञप्तिमा आफूबाहेक अरु सबैले गलत काम गरेको आशय उल्लेख छ ।
अंग्रेजी भाषाको विज्ञप्तिमा कुन सञ्चारमाध्यमले,के विषयमा,कहिले अनि के लेखेको थियो भन्नेबारे केही उल्लेख नगरी अमूर्त शैलीमा चौधरी ग्रुपको आधिकारिक विज्ञप्ति जारी गरिएको छ ।
चौधरी ग्रुपको छाप नभएको र आधिकारिक व्यक्तिले दस्तखत नगरेको उक्त विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समाचारमा जनाइएअनुसारका घटना वा विषयमा चौधरी ग्रुपको कुनै संलग्नता छैन । हाम्रो नाम,परिचयलाई गलत ढंगले प्रयोग गरिएकोमा कानुनी रुपमा पनि मान्य छैन ।’ विनोद चौधरीको कम्पनीले कुन सञ्चारमाध्यमले, कहिले र के विषयमा लेखेको वा प्रशारण गरेको बारे उल्लेख गरेको छैन ।
चौधरी ग्रुपले आफूले कानुनसम्मत तवरले व्यवसाय गरिरहेको दाबी गरेको छ । सञ्चार माध्यमले निरन्तर आफ्नो कम्पनीको विश्वसनीयतामाथि प्रहार गरेको भन्दै कानुनी उपचारमा जाने बताइएको छ । चौधरी ग्रुपले सञ्चार माध्यम, सर्वसाधारण, प्रतिस्पर्धी औद्योगिक प्रतिष्ठानहरुलाई गलत सूचना प्रवाहको विरुद्धमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेको छ ।
टिप्पणीहरू