‘घर बेचेर चुनाव जितेका सांसदले जनताको सेवा गर्नसक्छ ?’

‘घर बेचेर चुनाव जितेका सांसदले जनताको सेवा गर्नसक्छ ?’

राजनीतिक पार्टीहरुबीच मौजुदा मिश्रित निर्वाचन प्रणालीको विकल्पमा बहस चलिरहँदा विज्ञहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्ने यस क्षेत्रका जानकारहरुले प्रत्यक्ष निर्वाचन प्रणाली महँगो भएकाले पूर्ण समानुपातिकमा जानुपर्ने धारणा राखेका हुन् । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले वर्तमान निर्वाचन प्रणाली लोकतन्त्रको सुदृढीकरणकै लागि चुनौति बन्दै गएको बताए । 

पूर्ण समानुपाति निर्वाचन प्रणाली आजको आवश्यकता भएको उल्लेख गर्दै उनले यसका लागि दलका नेताहरु पूर्वाग्रहबाट टाढा रहनुपर्नेमा जोड दिए । 'नेपालको जस्तै जनताले दुःख भोगेर आएको दक्षिण अफ्रिकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गरेको छ । उनीहरुको केन्द्रदेखि प्रदेशसम्म एउटै निर्वाचन प्रणाली प्रयोग हुन्छ', उप्रेतीले भने, 'त्यहाँ आजसम्म कुनै कमजोरी भएर निर्वाचन प्रणालीमा पुनरावलोकन गरौं भनेर भन्नुपरेको छैन । त्यहाँका सबै प्रदेशमा समेत समानुपातिक निर्वाचन प्रणाली नै प्रयोग भएको छ । यसका लागि हामीले पूर्वाग्रहबाट टाढा जानुपर्छ ।'

विश्वका विकसित र धनी राष्ट्रहरुले समेत पूर्ण समानुपातिक प्रणाली अवलम्वन गरेको उल्लेख गर्दै उनले यो भन्दा सुदृढ अर्को निर्वाचन प्रणाली हुनै नसक्ने जिकिर गरे । पूर्ण निर्वाचन प्रणाली लागू गर्नसके राजनीतिक स्थिरता हुने पूर्व प्रमुख निर्वाचन आयुक्तको विश्वास छ ।

'व्यक्तिले चुनाव जित्नको लागि जतिपनि खर्च गर्न दिने र समानुपातिकमा जसरी पनि आउनुपर्छ भन्ने दलहरुको र नेताहरुको मनस्थितिको कारणले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुने स्थिति मैले देखेको छैन', तिवारीले भने, 'यस विषयमा मैले धेरै लेखेँ र बोलेको पनि छु । पूर्ण निर्वाचन प्रणाली प्रयोग गरेको खण्डमा हामीहरुले स्थिर सरकार दिन पनि सक्ने अवस्था छ ।'

पूर्ण समानुपातिकमा जाँदा दर्शन र सिद्धान्त मिल्ने दलहरु एक ठाउँमा आउने वातावरण बन्ने र पार्टीहरुको संख्यासमेत घट्ने उनको ठम्याई छ । घर बेचेर निर्वाचन जितेका सांसदले कसरी जनताको सेवा गर्नसक्छ ? भन्दै उनले प्रश्नसमेत गरे । 

नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले पनि अहिलेको मिश्रित निर्वाचन प्रणाली निकै अस्वस्थ रहेको बताएका छन् । निर्वाचन पैसा, प्रचार र प्रविधिमुखी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका उनले महिला, दलित र जनजातीले निर्वाचनमा भाग लिनसक्ने स्थिति नै नरहेको उल्लेख गरे । 

‘नेपालको निर्वाचन प्रणालीमा प्रचारको निकै अस्वस्थपना छ । पछिल्लो समय प्रचारप्रसार पैसामुखी र प्रविधिमुखी हुँदै गएको छ । त्यसले गर्दा महिला, दलित र जनजाती समुदायको प्रतिनिधित्व घट्दै गयो । उहाँहरु अब क्यान्डिडेट बन्न सक्नु हुँदैन', मैनालीको भनाई छ । 

निर्वाचनमा उम्मेदवारको क्लस्टरहरुको समेत कानूनमा स्पष्ट व्याख्या नहुँदा समस्या देखिएको उनले बताए । संविधानले राज्यका निकायहरुमा ३३ प्रतिशत महिला सहभागि हुनुपर्ने स्पष्ट व्यवस्था गरेको भएपनि कार्यान्वयन हुन नसकेकोतर्फ उनले गम्भीर चिन्ता व्यक्त गरे । पछिल्लो अध्ययनअनुसार २० प्रतिशत मात्रै महिला सहभागिता रहेको पूर्व सचिव मैनालीले जानकारी दिए । 

'संविधानले १३ वटा क्लस्टर बनायो । निर्वाचन कानूनमा यसको स्पष्ट व्याख्या छैन । यसको स्पष्टता चाहियो होइन भने मनोगत रुपमा प्रयोग हुने अवस्था छ', उनले भने, 'यौनिक अल्पसंख्यक र अल्पसंख्यकहरुको त झन हामीसँग डाटा रहेनछ । पछिल्लो समय नेपाल सरकारले शून्य दशमलव पाँच प्रतिशत जनसंख्या रहेको जातजातिलाई अल्पसंख्यक भनिदियो । त्यतिखेर १२३ जातजाति थिए । जसमा ९८ जाताजाती अल्पसंख्यक भइदियो । यसको पनि अलिकति व्याख्या गर्नुपर्ने अवस्था छ ।'

पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले प्रवासमा रहेका नेपाली नागरिकले समेत निर्वाचनमा भाग लिन पाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएका छन् । ६० लाख नेपाली प्रवासमा रहेको उल्लेख गर्दै उनले उनीहरुको निर्वाचनमा सहभागि हुन पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

प्रवासमा रहेका नेपाली नागरिकलाई भोटिङ राइट्स दिन अझै पर्याप्त छलफल र बहस जरुरी रहेको राजभण्डारीको बुझाई छ ।

टिप्पणीहरू