सिमेण्टको मूल्यविरुद्ध माननीयको मुद्दा पेशी चढ्यो

सिमेण्टको मूल्यविरुद्ध माननीयको मुद्दा पेशी चढ्यो

सिमेण्टमा भएको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध मधेश प्रदेशका सांसद रहबर अन्सारीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा पेशी चढेको छ । 

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलास नम्बर ६ मा आज पेशी तोकिएको हो । सांसद अन्सारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल सिमेण्ट उत्पादन संघ, शौर्य सिमेण्ट इन्डष्ट्रिज प्रालि, मारुती सिमेण्ट लिमिटेड, शिवम् सिमेण्ट्स लिमिटेड, ऋद्धिसिद्धि सिमेण्ट्स लिमिटेड, होङ्सी शिवम सिमेण्ट्स प्रालि, पाल्पा सिमेण्ट इण्डष्ट्रिज प्रालिलगायतलाई विपक्षी बनाएर हिजो रिट दायर गरेका थिए ।

रिटमा भनिएको छ, ‘उद्योग संघमार्फत सम्पूर्ण सिमेण्ट उद्योगीहरुको नाउँमा र नेपाल सरकारका निकायले तत्काल कालोबजारी रोकी आम उपभोक्ता, हार्डवेयर व्यवसायीको समस्या समाधान हुने नीतिनियम अवलम्बन गर्ने, बजारको प्रभावकारी अनुगमन गर्ने गराउने कार्य गर्नु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ ।’

गत कात्तिकदेखि सिमेण्टको मूल्य अस्वाभाविक रुपमा बढेको छ । उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा सिमेण्टमा तीन सयदेखि साढे तीन सय रुपैयाँसम्म बढाएका छन् । सरकारले सिमेण्टको मूल्य घटाउन निर्देशन दिएपनि उद्योगीहरुले मानेका छैनन् ।
 

टिप्पणीहरू