पालो र समय सबैको आउनेमा बालेन ढुक्क
नाबालिकालाई घरेलु कामदारमा राखेकी नेकपा एमालेको लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णयप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चर्को टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले समय सबैको आउने प्रतिक्रिया दिएका छन् । लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडककाविरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ ।’
यस्ता विभेद, अपराध मास्न र ती कुकर्म गर्नेहरुलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्नुपर्छ भन्दै बालेनले ती बालिकालाई सान्त्वना पनि दिएका छन् । ‘यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ,’ उनले भनेका छन् ।
घरमा बालश्रमिक राखेकी एमाले सांसद शर्मालाई मुद्दा चलाउनु नपर्ने रायसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।
गत भदौमा महानगरले बालुवाटारस्थित सांसद शर्माको घरबाट १४ वर्षीया एक बालिकाको उद्दार गरेको थियो । निकै दयनीय अवस्थामा भेटिएकी बालिकाले आफू आठ वर्षदेखि शर्माको घरमा रहेर काम गरिरहेको, यस अवधिमा परिवार भेट्न नपाएको, दशैंमा घर जान नदिएको र आफूमाथि कुटपिटसमेत हुने गरेको बताएकी थिइन् ।
छोरीको उद्दार गरेको भेटिएपछि ती बालिकाका बाबु काठमाडौं आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन समेत दर्ता गराएका थिए । सर्वोच्चले बालिकाको संरक्षण गर्न र अध्ययनमा कुनै अवरोध नगर्न आदेश दिएको थियो ।
त्यसपछि महानगरले बालश्रम गरेको भन्दै सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीको छानबिन गरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएकोमा कार्यालयले मुद्दा चलाउनु नपर्ने रायसहित फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएपछि बालेनले सामाजिक सञ्जालमा रोष प्रकट गरेका हुन् ।
टिप्पणीहरू