मभन्दा प्रहरी नै गतिछाडा रहेछन् :आशिका

मभन्दा प्रहरी नै गतिछाडा रहेछन् :आशिका

आफूलाई सामाजिक अभियन्ता दाबी गर्दै आएकी आशिका तामाङले हिरासतभित्र प्रहरीको बोली सुन्दा घिन लागेको बताएकी छन् । अभद्र व्यवहार र आपराधिक उपद्रवको कसुरमा झण्डै तीन हप्ता हिरासतमा बसेपछि उनले प्रहरीको बोलीभन्दा आफ्नै बोली राम्रो भएको दाबी गरिन् ।

गौशाला वृत्तका प्रहरीलाई ‘दलाल’ भनेपछि पक्राउ परेकी तामाङले हिरासतभित्र सुन्नै नसकिने फोहोर शब्द प्रयोग गरिएको खुलाइन् । ‘राती ड्युटीमा रहेका प्रहरीले थुनुवाहरुलाई बिनासित्तिमा यस्ता यस्ता फोहोर शब्द बोलेका थिए, म आकाशको छाँगाबाट खसेजस्तै भएँ’, हिरासतबारे उनले भनेकी छन्, ‘प्रहरीले त्यस्तो शब्द बोल्दा रहेछन्, मैले बोलेको त केहि रहेनछ ।’

त्यस्तै, शक्ति र पहुँच हुनेहरुले मात्र यो देशमा राज गरिरहेको उनको ठहर छ । माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका दुई प्रहरीमाथि कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता कमल जोशीलगायतलाई उन्मुक्ति दिइएको प्रसंग कोट्याउँदै उनले आफूमाथि सरकारले प्रतिशोध साँधेको जिकिर गरेकी हुन् । ‘प्रहरी कुट्नेहरु त छुटे रे त ! मैले त ११ दिन हिरासत बसेपछि कृपया छोराछोरीको खातिर भए पनि मलाई छोडिदिनुस् भनेर रोइकराइ गर्दा नि छोडेन किन होला त ?’ उनको प्रश्न छ । 

अभद्र व्यवहारको कसुरमा गौशला प्रहरी वृत्तको हिरासतमा ११ दिन बसेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीविरुद्ध प्रहरी वृत्त जगातीमा पनि आपराधिक उपद्रवको उजुरी परेपछि भक्तपुर प्रहरी परिसरलाई बुझाइएको थियो । त्यहाँ थप एक हप्ता बसेपछि जिल्ला अदालतका न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेकी हुन् ।
 

टिप्पणीहरू