अध्यादेश कार्यसूचीमा चढेपछि निर्णय गर्ने तयारीमा उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अध्यादेश संसद्को कार्यसूचीमा परेपछि आफ्नो पार्टीले निर्णय गर्ने बताएका छन् ।
राष्ट्रिय सभामा जसपाले समर्थन नदिएसम्म अध्यादेश पास नहुने संसदीय गणितका कारण सरकार अप्ठेरोमा परेको स्थितिमा उनको यस्तो प्रतिक्रिया आएको हो । सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा अध्यादेश पेश नहुनुमा आफ्नो पार्टीलाई जोडिएकोमा असन्तुष्टि जनाए ।
‘हामीले कहाँ अड्काएका छौँ त । सरकारले कार्यसूचिबाट आफैँ फिर्ता लिन्छ । हामीले अड्काएको कसरी भयो’, यादवले भने, ‘सरकारले कार्यसूचीमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ ।’
अध्यादेशबारे अहिले पार्टीमा छलफल भइरहेको र सकारात्मक रहेको उनको भनाइ छ । देश र जनताको हितमा निर्णय गर्ने जनाउँदै यादवले अध्यादेशको अन्तरवस्तु हेरेर धारणा बनाउने संकेत पनि दिएका छन् ।
अध्यादेश पारित गर्न सघाएर मधेसमा मुख्यमन्त्री लिनेगरी बार्गेनिङ गरेको भन्ने चर्चामा कुनै सत्यता नरहेको भन्दै उनले भने,‘यस्तो फोहोरी र फटाहा कुरा कहाँबाट आयो ? हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं, मन्त्रालय मागेका छैनौं । देश र जनताको हितमा काम चाहिएको हो ।’
टिप्पणीहरू