अन्तरीक्ष भन्ने,कुमारीपाटीमा हराउने

अन्तरीक्ष भन्ने,कुमारीपाटीमा हराउने

पाटन संयुक्त क्याम्पस (अंग्रेजी विभाग)का उपप्राध्यापक ढुण्डीराज निरौलाले अध्ययन बिदाको दुरुपयोग गरेर करोडौँ कमाएको चर्चा सेलाउन नपाउँदै अन्य दुई उपप्राध्यापक पनि उस्तै मेलोमेसोमा लागेको पाइएको छ । सोही क्याम्पसका उपप्राध्यापक द्वय लोकनाथ शर्मा र पूर्णज्योती शाक्यले विद्यावारिधि (पिएचडी) गर्ने भन्दै अध्ययन बिदाको दुरुपयोग गरेको खुलेको छ । 

भौतिकशास्त्र अध्यापन गर्ने उनीहरु ‘अन्तरिक्ष भौतिकशास्त्र’मा पिएचडी गर्ने भन्दै एक वर्षदेखि सरकारी अध्ययन बिदामा छन् । सामान्यतया त्रिभुवन विश्वविद्यालय,शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियम ०५०, परिच्छेद ५ अनुसार ‘अध्ययन बिदामा बस्दा विश्वविद्यालय वा अन्य सरकारी वा अर्धसरकारी वा गैरसरकारी क्षेत्रमा तलब वा अन्य सुविधा वा पारिश्रमिक लिई वा नलिई काम गर्न पाउँदैनन् ।’ तर उपप्राध्यापक द्वय शर्मा र शाक्यले भने ललितपुरको कुमारीपाटीस्थित मुनलाईट सेकेन्डरी स्कूल (मोलिस) कलेजमा अध्यापन गरिरहेका छन् । रोचक के भने, उनीहरुले उक्त कलेजमा लगानीसमेत गरेका छन् । कलेजको वेवसाईटमा उल्लेख गरिएको सञ्चालक समिति सदस्यको सूचीमा दुवै जनाको नाम र फोटो राखिएको छ । 

यसरी उपप्राध्यापकद्वय शर्मा र शाक्यले सरकारी तलब भत्तासहित बिदामा बसेर निजी कलेजमा अध्यापन गराइरहेको थाहा पाएपछि पाटन संयुक्त क्याम्पसकी सहायक प्रमुख सुविता वैद्य भन्छिन्, ‘यो त सरासर गलत हो, राज्यको सम्पत्ति दुरुपयोग भयो, कानुनी दुष्टिकोणले पनि त्यसो गर्न मिल्दैन ।’

उता उपप्राध्यापक शर्माले पनि आरोप स्वीकार गरेका छन् । एक वर्षदेखि अध्ययन बिदा दुरुपयोग गरिरहेको उनको स्वीकारोक्ति छ । ‘गर्न हुँदैनथ्यो, भइहाल्यो’, उनले जनआस्थासँग भने । अर्का उपप्राध्यापक शाक्यको धारणा पनि उस्तै छ । उनले भने, ‘दिउँसो पढाइरहेको छु, अब पिएचडीमा लाग्छु’ । दुवै जनाले अध्ययन बिदाको दुरुपयोग गरेको स्वीकार गरे पनि यसबीचमा लिएको तलबभत्ता सरकारलाई फिर्ता गर्नेसम्बन्धमा भने केही बोलेनन् । कानुनअनुसार अध्ययन बिदा अवधिमा लिएको तलबभत्ता १० प्रतिशत ब्याजसहित सरकारलाई फिर्ता गर्नुपर्ने प्रावधान छ । 

स्मरण रहोस्, अध्ययन बिदामा बसेर सेवामा नफर्किएका र निजी संस्थामा काम गरिरहेका कर्मचारीको खोजी गर्न त्रिविले पुस अन्तिम साता खोजविन समिति बनाएको थियो । डा. जीवन काफ्ले नेतृत्वको उक्त समितिलाई तीन महिनाको समय दिइएको छ । जनआस्थाले अध्ययन बिदा दुरुपयोग गरिरहेका उपप्राध्यापक ढुण्डीराज निरौलाको समाचार प्रकाशित गरेपछि त्रिविले त्यस्ता अन्य कर्मचारीको खोजी थालेको हो ।

टिप्पणीहरू