बसको ठक्करबाट मोटरसाइकल चालक बिते, सडक अवरुद्ध

बसको ठक्करबाट मोटरसाइकल चालक बिते, सडक अवरुद्ध

त्रिशुली–काठमाडौं सडकखण्डअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । 

गल्छीबाट त्रिशुलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बसले आज दिँउसो विपरीत दिशाबाट आउँदै गरेको बा.५८ प २८०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते मोटरसाइकल चालक सोही वडाका स्थानीय जीवन राईको मृत्यु भएको हो ।  

त्रिशुली अस्पतालमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक हरिबोल केसीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता, मृतकका आफन्तले त्रिशुली–काठमाडौं सडकखण्ड अवरुद्ध गरेका छन् । सडक खुलाउनका लागि मृतकका आमाबुवासँग छलफल भइरहेको उनले जानकारी दिए । 

‘मृतकको बुवाआमा यहीँ हुनुहुन्छ । हामी सडक खुलाउनका लागि उहाँहरुसँग कुरा गरिरहेका छौं । केही बेरमा सडक सुचारु होला’,इन्स्पेक्टर केसीले भने ।

टिप्पणीहरू