संसदको भूमिकामाथि सांसदकै प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भिर नहुँदा संसदले कानून बनाउन नसकेको बताएका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद्को प्रभावकारीतामा राजनीतिक दलको भूमिकामाथि प्रश्न उठाएका हुन् । राजनीतिक पार्टीहरुले कानून निर्माणको विषयलाई गम्भिरताका साथ लिए संसदले ढिलाई नगर्ने परियारको विश्वास छ । उनले सांसदकै कारण कानून निर्माण सुस्त भएको पनि बताए ।
‘संसदले कानून बनाउन के कारणले सकेन भन्ने कुरा महत्वपूर्ण छ‚ संसद निरपेक्ष छैन । संसदमा राजनीतिक पार्टीहरुले जुन दिन कानून निर्माणलाई गम्भीरताका साथ लिन्छन् त्यही दिनदेखि संसदले कानून बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो‚’ प्रमुख सचेतक परियारले भने, ‘हामी र हाम्रै कारणले कानून निर्माण भइरहेको छैन संसदमा । विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन? संघीय निजामती विधेयक किन बन्न सकेको छैन? यो सबै राजनीतिक पार्टीका कारणले कानून निर्माण हुन सकेको छैन ।’
राजनीतिक दलहरुका कारण संसद खण्डित भइरहेको उल्लेख गर्दै उनले यसमा सबैलाई गम्भिर हुन आग्रह गरे । विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको परियारको दाबी छ ।
टिप्पणीहरू