सुकिली माननीयको छेवैमा इज्जत ढाक्न मुश्किल महिला
‘...लाई भन्दा देख्नेलाई लाज !’ भन्ने प्रचलित नेपाली उखान ‘जान्नेलाई छान्ने’ पार्टीको एक जना माननीयको हर्कतसँग ठ्याक्कै मिल्न पुगेको छ । प्रतिनिधि सभा हिउँदे अधिवेशनको पहिलो बैठकमा उपस्थिति जनाएर आफ्नो गृहजिल्ला झापा पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले कचनकवल गाउँपालिका वडा नम्बर १ मा स्थानीयको भेला गरिन् ।
सो वडामा मुसहर समुदायको व्यापक बसोबास छ । सेतो रङ्गमा नीलो फूलबुट्टा भएको सारी र कोटमा सजिएर भेलामा बोल्न पुगेकी उनले पार्टी अध्यक्ष रवि लामिछानेमाथि अन्याय भएको कुरा उठाइन् । झापाको विकासमा आफू सक्रिय भएर लागिपरेकोलगायतका विषयमा बोलिन् । तर, भेलामा उपस्थित कसैलाई पनि उनको भाषणमा कुनै चासो थिएन । जाडो मौसम कटाउन आवश्यक पर्ने न्यानो लुगा र खाद्यान्न बाँड्छिन् कि भनेर उनीहरु भेलामा गएका थिए ।
तर, डाँगीले उनीहरुको समस्याबारे केही बोलिनन् । पार्टी र सभापतिबारे धुँवाधार भाषण दिएर हिँडिन् । रोचक प्रसंग के भने, सो भेलामा एक जना पनि युवा थिएनन् । जम्मै महिला मात्र थिए । सुकिलोमुकिलो भएर भाषण गरिरहेकी डाँगीको छेउमा बसेकी एक महिलाको शरीरमा पुरा ढाक्ने कपडा पनि थिएन । ठण्डीको मौसममा घुँडासम्म धोती र चोलो लगाएकी ती महिलाको तस्बिरले धेरैको ध्यान खिचेको छ । सो तस्बिरमा एक जनाले लेखेका छन्,‘...भन्दा देख्नेलाई लाज !’
टिप्पणीहरू