चितवनबाट तानिएका न्यायाधिवक्ता काठमाडौँ आउँदै

चितवनबाट तानिएका न्यायाधिवक्ता काठमाडौँ आउँदै

चितवनको सहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेविरुद्ध संगठित अपराधको मुद्धा दर्ता नगरेकोमा कारवाहीस्वरुप काठमाडौँ तानिएका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल पोकोपन्तुरो बोकेर हिँडेका छन् । स्थलमार्ग हुँदै उनी काठमाडौँ आउन लागेका हुन् । 

उक्त सहकारीकाे सवा ३८ करोड रकम रवि लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर हिनामिना गरेको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिउँसो १५ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध अभियोजन दर्ता गरेको थियो । जिबी राई, छविलाल जोशी, रामबहादुर खनाललगायतविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्धा दर्ता हुँदा रविलाई भने सहकारी ठगीको मुद्धामा मात्रै प्रतिवादी बनाइएको छ । 

उनीविरुद्ध एउटा मात्र मुद्धा दर्ता गरिएको जानकारी पाउनबित्तिकै काठमाडौँस्थित महान्याधिवक्ता कार्यालयले सोधखोज गरेको थियो । चितवनमा मुद्धा दर्ता भएको केही घण्टामै सरकारको उच्च नेतृत्वले महान्यायाधिवक्ता रमेश बडाललाई फोन गरेर ‘सरकारी वकिलहरु दयालु हुन्छन् क्या हो ?’ भन्दै चितवनमा ‘कठोर’ वकिल पठाउन घुमाउरो दबाब दिएको पनि स्रोतको दावी छ । 

त्यसपछि प्रधानमन्त्रीको कानुनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता बडालले तत्काल बुटवलस्थित उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई सम्पर्क गरेर ‘चितवन जान’ निर्देशन दिएको बताइन्छ । ‘सरुवाको योजना एक घण्टामा बनेको हो, फोनबाट सबै तय भएपछि साँझ बल्ल आधिकारिक जानकारी गराइयो’, स्रोत भन्छ, ‘चितवन छाड्ने (लुइँटेल)लाई भन्दा पहिले नै त्यहाँ जाने (न्यौपाने)लाई यो विषय थाहा थियो ।’

उता महान्यायाधिवक्ता कार्यालयमा सरुवा भएसँगै नीजि सामान पोकेर काठमाडौँ हिँडिसकेका लुइँटेल भने आश्चार्यमा छन् । हिजो साँझ करिब पौने ७ बजेतिर मेलमार्फत् सरुवा पत्र पाएको उनले बताए । आचानक र अस्वभाविक ढंगले किन सरुवा गरियो ? उनको जिज्ञासा छ । 

सहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध संगठित अपराधको कसुर आकर्षित नहुने भएकाले सहकारी ठगीको मुद्धामा मात्रै प्रतिवादी बनाइएको लुइँटेलले दावी गरेका छन् । ‘त्यो सहकारीको मुद्धामा पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ्, तीमध्ये दुईभन्दा बढी कम्पनीसँग जोडिएका सबै व्यक्तिविरुद्ध संगठित अपराधको मुद्धा छ’, उनले जनआस्थासँग भने, ‘तर उहाँ (लामिछाने) जोडिएकै एउटा मात्र कम्पनी हो, गोर्खा मिडिया भन्ने । कानुनले त्यसलाई ठगीको रुपमा मात्रै वाख्या गरेको छ, हामीले त्यसैअनुसार गर्यौ ।’

गत वर्ष कात्तिक २० गतेदेखि जिल्ला न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका लुइँटेल लामिछानेविरुद्ध मुद्धा दर्ता भएकै दिन एकाएक सरुवा हुनुलाई संंयोग मात्र मान्न नसकिने बताउँछन् । भन्छन्, ‘मेरो सरुवा हुने समय पनि भएको छैन, बढुवा भएर सरुवा भएको पनि होइन, उहाँ (लामिछाने)कै मुद्धा दर्ता भएको दिन अचानक यस्तो भयो, यो संयोग मात्रै होइन, तपाईहरु आफै बुझ्नुस् न !’

लामिछानेविरुद्ध सहकारी ठगी (मात्र) मुद्धा दर्ता गर्ने निर्णय गरेका लुइँटेलको सरुवा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना भएको कतिपयको बुझाई छ । पछिल्लो समय सरकार र प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश पोख्ने र समाजिक सञ्जालमा गाली गलौज गर्नेहरूमध्ये रास्वपापंक्ति अग्रपंक्तिमा देखिन्छ । यसैकारण पनि रास्वपालाई ट्र्रयाकमा ल्याउन सो पार्टीका सभापतिमाथि प्रधानमन्त्री ओली कठोर बनेको अनुमान धेरैले गरेका छन् । 

यता, लुँइटेलमाथि अनुसन्धान गर्न नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानविन समितिसमेत बनाइएको स्थिति छ ।
 

टिप्पणीहरू