क्षेत्राधिकार बाहिरका शैक्षिक परामर्श संस्थालाई चेतावनी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर कार्य सम्पादन नगर्न शैक्षिक परामर्श सेवा प्रदायक संस्थालाई चेतावनी दिइएको छ । कतिपय शैक्षिक परामर्श संस्थाले मन्त्रालयबाट अनुमति पाएको विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्र वा स्थानमा शाखा खोलेर सेवा प्रदान गरिरहेको पाइएकाले उक्त चेतावनी दिइएको हो ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा संस्थाको स्वीकृति रद्द गर्ने मन्त्रालयले बताएको छ । तसर्थ, अनुमति पाएको विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्रमा शाखा खोलेर सेवा प्रदान नगर्न सचेत गराइएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘स्वदेश वा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि अनुकूलको शिक्षण संस्था छनौट तथा प्रवेशको लागि तयारी गर्ने प्रयोजनार्थ यस मन्त्रालयबाट सेवा सञ्चालन अनुमति पाएका संस्थाहरुले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ बमोजिम अनुमति पाएको विषय, क्षेत्र, स्थानबाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न सोही निर्देशिकाको दफा १४ बमोजिम निर्देशित गरिएको छ ।’
टिप्पणीहरू