माओवादी नेताको जिम्मेवारी हेरफेर

माओवादी नेताको जिम्मेवारी हेरफेर

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज दिउँसो बसेको पदाधिकारी बैठकले प्रदेश इञ्चार्जहरुको कार्यक्षेत्र फेरबदल गरेको हो । 

जसअनुसार मधेश प्रदेशमा उपमहासचिव मातृका यादवलाई इञ्चार्ज तोकिएको छ । यसअघि त्यहाँ सचिव लिलामणि पोखरेल इञ्चार्ज थिए । उपाध्यक्ष अग्नि सापकोटालाई हटाएर बाग्मतीमा हितमान शाक्य इञ्चार्ज बनेका छन् । प्रवक्ताको जिम्मेवारीमा भने अग्नि यथावत छन् ।  

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इञ्चार्जमा निरन्तरता दिइएको छ । 

त्यस्तै, उपत्यका विशेष प्रदेशको इञ्चार्जमा स्थायी समिति सदस्य जयपुरी घर्ती, सार्क प्रवास इञ्चार्जमा लक्ष्मण पन्त, युरोप-अमेरिका इञ्चार्जमा राम कार्की र एसिया इञ्चार्जमा ओम शर्मा तोकिएका छन् । 

बैठकले आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान थाल्ने निर्णय पनि गरेको छ । २१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।

त्यस्तै फागुन ९ गते स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपमप्रमुखको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । स्थानीय तहमा माओवादीबाट निर्वाचित १२३ जनप्रतिनिधिले नेतृत्व गरिरहेका छन् ।

टिप्पणीहरू