भित्रका कुरा बाहिर छरपस्ट नगर्नू : एकीकृत समाजवादी

भित्रका कुरा बाहिर छरपस्ट नगर्नू : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले पार्टी र यसका नेताहरुबारे सामाजिक सञ्जाल वा सञ्चार माध्यममा टिकाटिप्पणी गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका धारणा र निर्णयप्रति आफ्ना टिकाटिप्पणी र फरक मतलाई आफू संगठित कमिटी बैठकमा नराखी सामाजिक सञ्जाल वा मिडियामा छरपस्ट पार्ने कारबाहीको भागिदार बन्नुपर्ने छ ।

पार्टी केन्द्रीय अनुशासन आयोगले बेलाबखत हुँदै आएका त्यस्ता गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र निगरानी गरिरहेको जानकारी गराउँदै जनाएको छ, ‘बेलाबखत यस पार्टीका एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनको यो महत्वपूर्ण पक्षलाई बिर्सने, पार्टी विधानले दिएको अन्तरपार्टी जनवादको अवसरलाई पद्धतिसंगत उपयोग नगर्ने, पार्टीका धारा र निर्णयहरुप्रति आफ्नो सुझाव, टिप्पणी वा फरक मतलाई आफू संगठित कमिटीको बैठकमा नराखी बाहिर सामाजिक सञ्जाल वा मिडियामा जथाभावी छरेर भ्रम सिर्जना हुने अवस्थामा पुर्याउने काम पनि छिटफुट रुपमा भइरहेको पाइएको छ । त्यस्ता गतिविधिलाई नोटिसमा राखी निगरानी गरिरहेको जानकारी गराइन्छ ।’ 

पार्टी विधि र पद्धतिलाई कडाईका साथ पालना गर्नु गराउनु माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्मका सबै नेता–कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उक्त पक्षलाई वेबास्ता गरी पार्टी विधान विपरीत चल्ने, सामाजिक सञ्जाल, मिडिया वा अन्य माध्यमबाट आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गर्नेजस्ता क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

‘पार्टीको तलदेखि माथि जुनसुकै तह र निकायको जिम्मेवारीमा रहनुभएको कमरेड जहाँ जो जोबाट जेजस्तो आशयबाट त्यस्तो बेठिक शैली र कुराहरु प्रकट भएको भए पनि त्यसलाई तत्काल त्यागिहाल्न अनुरोध र सचेत पनि गराइन्छ, अन्यथा पार्टीको विधानअनुरुप अनुशासनको कारबाहीको प्रक्रिया अघि बढाइने कुरा समेत जानकारी गराइन्छ,’ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू