कोटीहोमका नाममा शहरभित्रका रुख फँडानी

कोटीहोमका नाममा शहरभित्रका रुख फँडानी

कास्कीको पोखरा महानगरपालिकाले सार्वजनिक स्थानमा रहेका रुखविरुवा कटान गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । नगर क्षेत्रभित्र कोटीहोमका नाममा अनुमतिबिना सयौं वर्ष पुरानो रुख काटेको भेटिएपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको छ ।

महानगरले काटिएका रुखको विवरण संकलनसहित उक्त कार्यमा संलग्नको पहिचान गरिएको जानकारी गराएको छ । जारी सूचनामा भनिएको छ, ‘महानगरपालिकाले अनुगमनको क्रममा काटिएका रुखहरुको विवरण संकलन गरिरहेको र अनाधिकृत रुपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने समेत जानकारी गराइन्छ ।’

साथै, रुख कटान कार्य दण्डनीय हुने भन्दै अनुमति बेगर सार्वजनिक स्थानमा रहेको रुखविरुवा कटान तथा बिक्रीवितरण नगर्न आग्रह गरिएको छ । ‘यस प्रकार अनाधिकृत रुपमा रुख कटान गर्ने कार्य कानूनतः दण्डनीय हुने सचेत गराउँदै रुख कटानमा संलग्न जोकोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ, ‘आफ्नो टोल छिमेकमा रहेका ऐतिहासिक चौतारी तथा रुखविरुवाको संरक्षणमा प्रतिबद्ध बन्न महानगरपालिका आम नगरबासीलाई अनुरोध गर्दछ ।’

टिप्पणीहरू