यसकारण विमानस्थलमा एकछिन एमाले बने राजदूत
सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेल जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा स्वागतका लागि लामबद्ध थिए– प्रवासी नेपाली मञ्चका नेता–कार्यकर्ता । एमाले केन्द्रीय सदस्य सूर्य पाठकलगायत पनि महासचिवको स्वागतका लागि पुष्पगुच्छा लिएर एयरपोर्ट पुगेका थिए ।
सहयोगी सरोज रेग्मीसहित महासचिव पोखरेल विमानस्थलमाबाट बाहिरिँदा खादा–माला समातेर लहरै उभिएका प्रवासी नेपालीहरू स्वागत गर्न आतुर देखिन्थे । त्यत्तिकैमा हस्याङ्गफस्याङ्ग गर्दै हातमा पुष्पगुच्छा बोकेर एकाएक पुगे, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी उर्फ दुबसु ।
एमालेको भ्रातृ संस्था प्रवासी नेपाली मञ्च जापानका एक पदाधिकारीले अचम्म मान्दै भने, ‘हस्याङफस्याङ गर्दै महासचिव कमरेडलाई स्वागत गर्न आइपुगेको देखेर म छक्क परेँ ! हिजो अस्तिसम्म कसैलाई नटेर्ने मान्छे, अरु बेला नेता–सेता भनेका यस्तै हुन्, देश चलाउने त हामी कर्मचारीहरूले हो भन्ने यी राजदूत महोदय ! आखिर दौडिएर एयरपोर्टमै आइपुगे !’
राजदूत सुवेदीले सत्ताधारी पार्टीका शक्तिशाली महासचिवलाई विमानस्थलमा स्वागत मात्रै गरेनन्, ‘माननीयज्यू जापानमा त एमालेको संगठन असाध्यै राम्रो रहेछ नि !’ भनी चाकडी गर्न पनि भ्याए । ठूला दलका शीर्ष नेता, प्रधानमन्त्री–मन्त्रीलाई रिझाएर रोजेको नियुक्ति पड्काउन माहिर मानिएका उनी शंकरको स्वागतका लागि एअरपोर्ट पुग्नु आफैँमा अनौठो भने थिएन । तर, जापानमा बस्ने एमालेहरु भने त्यहि कुराले अचम्मित भएका छन् ।
‘अरुबेला दूतावासमा होस् या अरु सार्वजनिक कार्यक्रमा भेट्दा रेस्पोन्स नगर्ने उहाँ महासचिवलाई फुक्र्याउन एकछिन एमाले पनि बन्न भ्याउनुभयो’, एकजना जापानी एमालेले भने । त्यसो त दुबसु कट्टर कांग्रेसी हुन् भन्ने धेरैलाई थाहा छ । कर्मचारी वृत्तमा ’रुखछापे’ भनेर पहिले चिनिएका पनि हुन् ।
‘महासचिवज्यू प्रवासी नेपाली मञ्च जापानको कार्यक्रममा आउनुभएको हो । यसको व्यवस्थापन मञ्चले गरेको छ । डा. सूर्य पाठक पनि यहीँ हुनुहुन्छ, हामीले राजदूतज्यूलाई भनेका पनि थिएनौँ । तर, उहाँ आइपुग्नुभयो, ठीकै छ,’ उनै एमाले कार्यकर्ताले भने ।
नेता रिझाउन दौदिएर एयरपोर्ट पुगेका राजदूत सुवेदीमाथि जापानमा रहेका नेपालीहरुको समस्या समाधानमा भने उदासीनता देखाएको आरोप छ । शंकरको स्वागत गर्न पुगेका केही विद्यार्थीहरूले त्यहिँ आलोचनासमेत गरेका थिए ।
जापानमा पढ्न आएर दुःख पाएका विद्यार्थीहरूको फोनसमेत नउठाएको र पारिवारिक समस्यामा परेकाहरुको हकमा दूवावासले वास्तै नगरेको उनीहरुको गुनासो छ । ‘राजदूतको काम नेताको चाकडी गर्ने मात्रै हो ?,’ म्याग्दीका ती विद्यार्थीले प्रश्न गरे, ‘हामीलाई समस्या परेको बेला राजदूतासको नम्बरमा पटक–पटक फोन गरेका थियौँ, फोन उठेन । फेरि राजदूतलाई फोन गर्यौं, उहाँको पनि उठेन । तर, अहिले तिनै व्यक्ति नेताको पछिपछि हिँडेको देख्छु ! लाज लाग्नुपर्दैन !’
दीपक संगम, जापान ।
टिप्पणीहरू