पाथीभराको केबलकार सबैको हितमा : एमाले सचिव

पाथीभराको केबलकार सबैको हितमा : एमाले सचिव

ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार प्रारम्भमै विवादमा परेको छ । माघ १२ गते पहिचानवादी र ‘नो केवलकार’ पक्षधरको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा उत्पन्न झडपपछि केबलकार निर्माण कार्य थप पेचिलो बनेको छ ।

आन्दोलनकारीहरु आफ्ना मागबाट टसमस नहुने स्थिति बनेसँगै विवाद समाधानका लागि संघ र प्रदेश सरकारका तर्फबाट सरोकारवालाहरुसँग संवाद चलिरहेको छ । गृहमन्त्री रमेश लेखकले हिजो ताप्लेजुङ र आसपासका जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग यसबारे छलफल गर्नुभएको थियो । आज ताप्लेजुङका सांसद योगेश भट्टराईले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्नुभएको छ ।

पाथीभरामा केबलकार निर्माणको परियोजना तत्काल खारेज हुनुपर्ने, त्यस क्षेत्रमा खटाइएका सेना र प्रहरी फिर्ता हुनुपर्ने, पक्राउ परेका अभियन्ताहरु विनाशर्त रिहा गर्नुपर्नेजस्ता माग राखेर आन्दोलकारीले सडक अवरुद्ध गरिरहँदा सोही जिल्लाका जनप्रतिनिधि भट्टराईले भने निर्वाध रुपमा परियोजना अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले १९ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ । 

जिल्लास्थित क्रियाशील राजनीतिक दल र तीन तहको सरकारबीच बृहत छलफल र अध्ययन गरेरै केबलकार निर्माण परियोजना अघि बढाइएको भट्टराईको दाबी छ । एमाले सचिव तथा पूर्व मन्त्रीले पाथीभरामा हाल वर्षेनी तीन लाख हारहारीमा तीर्थालु पुग्ने गरेकोमा केबलकार निर्माणपछि सो संख्या १० लाख नाघ्ने विश्वास राख्नुभएको छ । 

‘केबलकार निर्माणले कुनै पनि धर्म, संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन’, भट्टराईको दावी छ, ‘पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट खोल्न दिइने छैन । तर, बाहिर हल्ला गरिएजस्तो २५ हजार रुख काट्ने कुरामा कुनै सत्यता छैन, जम्मा दुई हजार ११२ वटा कटान हुनेछ ।’

माघ १२ को झडपमा घाइते भएकाहरुको निःशुल्क उपचार र पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहाको निम्ति सरकारलाई आग्रह गरिएको छ ।

भिडियोको लागि तलको लिङ्कमा क्लिकमा गर्नुहोस् 

https://www.facebook.com/mohan.bastola.37/videos/1087048076437169/?mibextid=rS40aB7S9Ucbxw6v

टिप्पणीहरू