हेडक्वार्टरको संकटमोचन कार्यक्रममा हाकिमहरूलाई मीनेट फरकको निम्तो
काठमाडौंको नक्सालस्थित नेपाल प्रहरीको मुख्यालय परिसरभित्रको शिव मन्दिर प्राङ्गणमा संकटमोचन हनुमानको मूर्ति प्रतिस्थापन गर्न लागिएको छ । भोलि दिउँसो ३ बजे मूर्ति प्रतिस्थापनको कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा प्रसाद ग्रहणका लागि मुख्यालयको प्रशासन शाखाले प्रहरी नायव महानिरीक्षक (डिआईजी) भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृतहरुलाई मीनेट फरकमा निम्तो गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) २ बजेर ५५ मीनेट, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायव महानिरीक्षक (डिआईजी) लाई २ बजेर ५० मीनेटमा कार्यालय पोशाकमा उपस्थित हुने बताइएको छ ।
‘नेपाल प्रहरी प्रधान कार्यालय परिसरभित्रको शिव मन्दिर प्राङगणमा मिति २०८१ माघ १८ गते ३ बजे श्री संकटमोचन हनुमानजीको मूर्ति स्थापना गर्ने कार्यक्रममा प्रसाद ग्रहण गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय परिसर भित्रका प्रहरी नायव महानिरीक्षक र सोभन्दा माथिका प्रहरी अधिकृतहरुलाई कार्यालय पोशाकमा निम्नानुसार उपस्थित गराउन हुन अनुरोध गरिएको छ’, प्रेषित पत्रमा उल्लेख छ ।
शाखाले हेडक्वार्टरको भिडियोग्राफी, फोटोग्राफी शाखा र समाचार कक्षले भिडियोग्राफर, फोटोग्राफर र समाचार संकलनको लागि प्रतिनिधिलाई समयमै पठाउनुपर्ने पत्रको व्यहोरामा छ ।
टिप्पणीहरू