एमालेबाट निकालिएका भीम रावल कतै नलाग्ने
नेकपा एमालेबाट निकालिएका डाक्टर भीमबहादुर रावल आफ्नै नेतृत्वमा पार्टी गठन गर्ने तयारीमा जुटेको बुझिएको छ ।
आफूमाथि कारवाहीको डण्डा बर्साउने निर्णयविरुद्ध कडा प्रतिक्रिया दिएका रावलले मुख नखोले पनि उनी निकटहरुले पार्टी खोल्ने तयारी भैरहेको जानकारी दिएका हुन् । नयाँ पार्टी खोल्न अहिले छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने नेताहरुले बताए ।
पूर्वउपाध्यक्ष रावललाई हिजो बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पार्टी हितविपरित सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा स्पष्टिकरण सोधिएकोमा जवाफ नदिएको भन्दै एमालेले उनको सदस्यता खोस्ने निर्णय गरेको हो ।
एमालेसँगको चार दशक लामो राजनीतिक यात्रा टुंगिएसँगै कतिपयले रावल एकीकृत समाजवादीमा जानसक्ने अनुमान गरेका थिए । तर, विभिन्न सञ्चार माध्यमसँगको अन्तर्वार्तामा नयाँ ढंगले अघि बढ्ने बताएका उनले नयाँ पार्टी खोल्ने संकेत दिएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा बलियो प्रभाव बनाएका रावलले एमालेमा असन्तुष्ट नेता-कार्यकर्तालाई समेटेर पार्टी बनाउन लागेको बताइएको छ ।
२०७९ को मंसिरमा चितवनको सौराहामा सम्पन्न एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए । सर्वसम्मत अध्यक्ष हुने ओलीको रहरमा चुनौती बनेका उनी त्यसयता कुनै पनि जिम्मेवारीमा थिएनन् ।
गत वैशाखमा ललितपुरको गोदावरीमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा रावललाई प्रवेश निषेध गरिएको थियो । त्यतिबेलै 'राजनीतिको एउटा घुम्तीमा पुगेको' जनाउँदै एमाले छोड्न लागेको संकेत दिएका उनले कुनै कदम भने चालेनन् ।
टिप्पणीहरू