दुर्गा प्रसाईंको टिप्पणी : शासक मरेको, न्याय ज्युँदै

दुर्गा प्रसाईंको टिप्पणी : शासक मरेको, न्याय ज्युँदै
सुन्नुहोस्

आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले न्यायालयको तारिफ गरेका छन् । । 

दुइवटा फरक–फरक कसूरमा पक्राउ परी एक महिना लामो हिरासत बसाईपछि आज सर्वोच्च अदालतको आदेशबाट रिहा भएका उनले न्याय नमरेको टिप्पणी गरेका हुन् । छुटेलगत्तै फेसबुकमा लेखेका छन्, ‘शासक हो मरेको न्याय मरेको छैन !’  

राज्यका अन्य निकायहरु जे–जस्तो भए पनि न्यायालय भने अझै पवित्र रहेको प्रसाईंले बताएका छन् । ‘राज्यका कुनै निकायप्रति विश्वास उडेको होला, तर न्यायालय आज पनि पवित्र छ’, उनले भनेका छन्, ‘राज्यका अनेकन बेथितिको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनुपर्यो, नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नुपर्यो, अन्तत्वगत्वा सत्यको जित भएको छ । सर्वोच्च अदालतको आदेशले आज रिहा भएको छु !’

यसबीचमा आफूलाई धेरै जनाले सहयोग गरेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद पनि दिएका छन् । पुरानै उत्साहका साथ फेरि मैदानमा खडा हुने जनाउँदै बाँकी कुरा बिस्तारै बताउने उनको भनाई छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशपछि ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै आपराधिक लाभसम्बन्धी अर्को कसूरमा पक्राउ परेका थिए । त्यसविरुद्ध उनका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा अदालतले आज छोड्न आदेश गरेको हो ।

टिप्पणीहरू