अर्थतन्त्र खुम्चियो भनेपछि मन्त्रीको जवाफ : राजनीतिक अस्थिरता प्रमुख कारण

अर्थतन्त्र खुम्चियो भनेपछि मन्त्रीको जवाफ : राजनीतिक अस्थिरता प्रमुख कारण

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ । मन्त्री गुरुङले राजस्व उठ्न नसकेको, आयातमा कमी आएको र पुँजीगत खर्च हुन नसकेको उल्लेख गर्नुभयो । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा तथा सातौं महासभाका प्रमुख अतिथि गुरुङले तर सरकार समस्या समाधानमा लागिसकेको दाबी गर्नुभएको छ । मन्त्रीको भनाई छ, ‘नीतिगत र राजनीतिक अस्थिरता नै प्रमुख कारण हो ।’ 

यसअघि बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र खुम्चिएकाले सर्वसाधारणको मनोबल बढ्न नसकेको धारणा राख्नुभएको थियो । तीन वर्षअघि नेपाललाई श्रीलंकाको अर्थतन्त्रसँग तुलना गरेको बखत आफूले गरेको दाबी अहिले प्रमाणित भएको उहाँको भनाई छ । ‘थोरै भएपनि हाम्रो अर्थतन्त्र चलायमान छ । श्रीलंका र नेपालको परिस्थिति धेरै फरक छ,’ ढकालले भन्नुभयो ।

मुलुकको अर्थतन्त्र अघि बढाउन सबै मिल्नुको विकल्प नभएको ढकालको धारणा छ । नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले पत्रकारहरूको क्षमतावृद्धिका लागि तालिम र क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रममा आफ्नो संस्थाले जोड दिएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा तीन जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् । उनीहरुका उत्कृष्ट समाचारलाई सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार, सिविफिन नाफिज बैंकिङ पुरस्कार र ढुण्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार दूध किसानको समस्याको समाचारका लागि अनलाइनखबरका अमृत चिमरियालाई दिइएको छ । त्यस्तै सिविफिन नाफिज बैंकिङ पुरस्कार टक्सार म्यागजिका अनुप आचार्यलाई बैंकको काउन्टर ग्यारेन्टीको समाचारमा दिइएको जनाइएको छ । 

शारदादेवी–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार उकालो डटकमका लोकेन्द्र विश्वकर्मालाई राष्ट्रपति शैक्षिक सुधार परियोजनामा भएका अनियमितताबारे लेखिएको समाचारलाई प्रदान गरिएको छ । 

सिविफिन नाफिज आर्थिक पत्रकारिता पुरस्कार र सिविफिन नाफिज बैंकिङ पुरस्कार ५०/५० हजार रुपैयाँ र ढुण्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ लाख रुपैयाँको हो ।

टिप्पणीहरू