बुद्धिस्ट सम्मेलनमा सहभागी चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डल स्वदेश प्रस्थान
चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्केको छ । आजदेखि राजधानीमा शुरु नानहाई बुद्धिज्म राउण्डटेबलको उद्घाटन समारोहमा सहभागी चङ नेतृत्वको सात सदस्यीय टोली मध्यान्ह १२ बजे चाइना साउदर्नको उडान नम्बर सीजेड ६०६८ मा ग्वाङ्झौ प्रस्थान गरेको बताइन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी ग्रुपका सदस्यसमेत रहेका चङ सिआओहुई नेतृत्वको टोली हिजो थाइल्याण्डको राजधानी बैंकक हुँदै काठमाडौं आइपुगेको थियो । गोलमेच सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उद्घाटन गर्नुभएको छ ।
सम्मेलनमा चीनलगायत विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिहरुको सहभागिता छ । कार्यक्रममा कम्बोडियाका धार्मिक मामिलामन्त्री छाय बोरिन नेतृत्वको नौ सदस्यीय र लाओसका उपमन्त्री लिवोङ लाओलीसहितको टोली सहभागी छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङ नेतृत्वको अर्को प्रतिनिधिमण्डलले पनि सहभागिता जनाएको छ । उपमन्त्री वाङ यु चङ उक्त प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुनुहुन्छ ।
टिप्पणीहरू