भाउजूको नाममा स्कुटर गायब

भाउजूको नाममा स्कुटर गायब
सुन्नुहोस्

‘मैले कलम चोप्नुपर्छ तपाईंका लागि, यति दुःख गर्ने कर्मचारीले भनेको ठाउँमा परियोजना नलैजाने ? पाइलटिङमा भए पनि मन्त्री वा मेरो जिल्लामा केही न केही प्रोजेक्ट लैजानुपर्छ नत्र भने मन्त्रीज्यूले मान्नुहुन्न, फायल अगाडि बढाउन गाह्रो छ ।’ 

हालै यो संवाद गर्ने व्यक्ति समाजकल्याण परिषद्मा योजना शाखा प्रमुख सञ्जय मल्लिक हुन्, संस्थाका मान्छेसँग जनताको पसिनाबाट तलब खाएर पनि कलम चलाएबापत छुट्टै बोनस लाभका लागि बार्गेनिङ गर्ने परिषद्मा नौलो घटना त हैन तर अहिले आएर उल्का भइरहेको छ । महिला तथा बालबालिकामन्त्री अध्यक्ष हुने परिषद्मा अहिले मन्त्री नवलकिशोर साह सुडी मन्त्रिपरिषद्को निर्णयबिनै कसैलाई थाहासमेत नदिई कतार च्यारिटी भन्ने आइएनजिओको स्पोन्सरमा लीलावल्लभ अधिकारी शैलीमा कतारमा घुमफिर र मोजमस्तीमा छन् । उनका छोरा सुमित भने मन्त्रीकै हैसियतमा दिपक मनाङे स्टाइलमा एनजिओ र आइएनजिओलाई समाजकल्याणका योजना प्रमुखको सहायतामा मिसन ०८४ भन्दै परियोजनाको फाइल स्वीकृतिका लागि धम्की दिँदै असुली प्रक्रिया तीव्र पारेका छन् । 

पीडित एनजिओ आइएनजिओ प्रमुख भन्छन्– यस्तो खुल्लायाम मोलमोलाइ गरेको र यसरी दुःख दिएको कहिल्यै देखेका थिएनौँ । यही बेला परिषद्का एक बोर्ड सदस्यले परराष्ट्रमन्त्री आरजु देउवा अथवा राष्ट्रिय भाउजूको नाम भजाउँदै स्कुटर टप्काएर छोरीलाई दिन सफल भएका छन् । 

‘मन्त्रिपरिषद्मा फाइल नै रोकेर मलाई कोषाध्यक्षमा नियुक्ति गरेको आरजुले नै हो, म पनि आरजुकै निर्वाचन क्षेत्रको हुँ, त्यहाँ रहेको घरको हेरचाह मैले नै गर्छु’ भनेर कोषाध्यक्ष विनय लामा फुर्ती लाउँछन् । यही आडमा उनले आफ्नो कैलालीमा रहेको याड नेपाल नामक संस्थामा परिषद्बाट हालसम्म झण्डै एक अर्बका १५ वटा परियोजना फुस्काइसकेका छन् भने विभिन्न संस्थालाई धम्क्याएर वैशाखयता तीनचोटि अमेरिका, दुईचोटि जापन गएर संस्था र परिषद्बाट दोहोरो सुविधा लिइसकेका छन् । 

अति भएपछि आरजुले लामालाई बोलाई अब आफ्नोअगाडि मुख नदेखाउन भनेको त सुनिएको थियो तर आरजु राणाकै नाम बेचर परिषद्को स्कुटरमा ज्यान फाल्ने बोर्ड सदस्य हुन्– शम्भुजंग राणा । एनजिओमा जागिरे उनलाई आरजुले टिपेर सदस्य बनाएकी हुन् । उनी दुबै ठाउँमा काम गर्छन् तर परिषद्का सदस्य कसैलाई पनि यातायात सुविधा छैन । उनले भाउजूको नाम बेचेर जबरजस्ती परिषद्बाट गाडी मागेकामा स्कुटरमा चित्त बुझाएका छन् । ‘त्यसरी लगेको स्कुटर आफैँ नचलाई अनअफिसियल प्रयोग हुँदा दुर्घटना भएमा कसले जिम्मा लिने ?’ एक कर्मचारीले भने । 

काम बैध, कर्मचारी अबैध 

समाजकल्याण परिषद्मा अर्को अचम्मको काम भइरहेको छ । ५० भन्दा बढी सहयोगीदेखि सहायक निर्देशकसम्मका विभिन्न समयमा मन्त्रीले करारमा नियुक्ति गरेका कर्मचारीको म्याद कात्तिक मसान्तबाट सकिएको छ तर म्याद थप भएको छैन । कानूनको नजरमा उनीहरू अवैध हुन् तर तिनलाई काम लगाएर परिषद्ले अवैध कर्मचारीबाट गरिएको काम त्यसलाई के मान्ने बैध कि अवैध ? अहिले त्यस्तो अवस्था आइलागेको छ, त्यो पनि बहालवाला अख्तियार प्रमुख प्रेम राईका कारण । उनी २०६९ सालमा अख्तियारमा सहसचिव थिए । त्यसैबेला परिषद्को उजुरीमा छानबिन गर्दा प्रक्रिया नपु¥याएको, आइन्दा कर्मचारी लोकसेवाबाट स्थायी पदपूर्ति गर्नुपर्ने, कानुनी हिसाबले प्राविधिक प्रकारका अस्थायी कर्मचारी राख्ने व्यवस्था स्पष्ट भएकाबाहेक कसैलाई पनि करारमा नराख्नु, यदि राखेमा नियुक्ति गर्ने व्यक्तिबाट असुलउपर गर्ने कडा आदेशात्मक पत्र लेखेका थिए । 

त्यही कारण देखाएर बोर्ड बैठकसमेत हंगामा भएपछि कार्य सञ्चालन समितिले समेत कोही कर्मचारीको म्याद थपेको छैन । भगवती चौधरी मन्त्री हुँदा नियुक्त चार जनाको सदस्य सचिवले हाजिरी नै काटेपछि परिषद् उपाध्यक्ष नन्दलाल माझीले अधिकृत स्तरका ती कर्मचारीलाई आफ्नो कार्यकक्षमा व्यक्तिगत हिसाबले हाजिर गराउने र आफ्नो संस्थाको प्रपोजल लेखाउने, चाउचाउ पकाउने, कविता लेखेर सुनाउने ओम शान्तिको अभियानबारे योजना वनाउनेजस्ता काममा लगाएका छन् । विजय गच्छदारको दाहिने हात माझी गत चुनावमा भगवती चौधरीलाई रामै्र दान–दक्षिणा सहयोग गरेबापत चौधरी मन्त्री हुँदा केपी ओलीले रोक्दा रोक्दै पनि आफ्नै गाउँको मान्छे जिद्धी गरेरै ६ महिनाअगाडि नियुक्त गरेकी थिइन् ।

स्थायी कर्मचारीको संख्या ३ दर्जनजति होला बाँकी सबै अस्थायी करारका हुन् जो अहिले बेवारिसेजस्तै छन् भने यही मौकामा मन्त्री सुडी आफ्ना क्षेत्रका दर्जनौँ कर्मचारी भर्ती गर्न चाहन्छन् तर बाधक बनेको त्यो पत्रबारे अख्तियार प्रमुख राईले एमालेलाई अप्ठ्यारो पारेको खण्डमा अनुकूल बनाउने आश्वासन दिएको बुझिएको छ । तर, मन्त्रीको छुट्टै दाउ, पूर्वमन्त्रीको अहिले पनि चलखेल भएपछि सदस्य सचिव मनोज भट्ट अहिले जो कर्मचारीको म्यादको कुरा गर्छ त्यसलाई केपी, शेरबहादुर, अख्तियारबाट फोन गर्न लगाऊ नत्र सम्भव छैन भन्दै ठूला कुरा गर्न थालेका छन् भने पूर्वमन्त्री भगवती चौधरीले बहालवाला मन्त्री नवलकिशोर शाहलाई भेट्न खोज्दा अस्वीकार गरेको बुझिएको छ । अशोक राईलाई मन्त्रीका बाबु छोराको धन्दाबारे हल्ला गरेर मन्त्री नै चेन्ज गर्ने लाइनमा एमाले पुगेको छ ।
          

टिप्पणीहरू