शुरु भयो नवौँ नानहाई बौद्ध सम्मेलन, प्रधानमन्त्रीद्वारा सम्बोधन

शुरु भयो नवौँ नानहाई बौद्ध सम्मेलन, प्रधानमन्त्रीद्वारा सम्बोधन
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी र चीनको बौद्ध सम्प्रदायबीच कायम रहेको धार्मिक ओतप्रोतको सम्बन्धले नेपाल र चीनबीचको सम्बन्धलाई कसिलो बनाएको बताउनुभएको छ । उहाँले दुई मुलुकबीचको सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोको रुपमा शताब्दीदेखि कायम रहेको उल्लेख गर्नुभयो । 

राजधानीमा आयोजित नवौँ नानहाई बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बौद्ध धर्मले दुई मुलुकबीच आध्यात्मिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता कायम छ । यो सम्मेलनले उक्त सम्बन्धलाई थप गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ । यसले नेपाल र चीन बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्ने विश्वास लिएको छु ।’

उहाँले नेपालमा बौद्ध धर्म अध्ययनमा समर्पित ज्ञानको एक प्रकाशस्तम्भ, लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमीबीचको सहयोगात्मक संलग्नताले साझेदारी र साझा आकांक्षाको भावनालाई प्रतिविम्बित गरेको बताउनुभयो ।

कार्यक्रममा चीन, कम्बोडिया र लाओसका मन्त्रीहरु, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, चीनका बौद्ध धर्मगुरु तथा चिनियाँ बुद्धिष्ट एसोसिएसनका उपसभापति यीन शुन, सेन्चन प्रवासी मित्रता संघका अध्यक्ष वाङ छियाङको उपस्थिति छ। 

त्यसैगरी चीनको बौद्ध संघका उपाध्यक्ष, चिनियाँ बौद्ध मठ, कम्बोडियाको बौद्ध परिषद्का उपाध्यक्ष सम्देच डोङ फाङ, चीनलगायत विभिन्न राष्ट्रका भिक्षुहरु सहभागी छन् ।

टिप्पणीहरू