नरेन्द्र मोदीपछि गङ्गापुत्रीलाई सञ्जय दत्तको शुभकामना
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको विवाह मंसिर २१ गते सम्पन्न भइसक्यो । तर, उनलाई शुभकामना र बधाई आउनेक्रम भने अझै रोकिएको छैन ।
यसैबीच बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले स्मितालाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । उनले स्मितालाई ‘प्यारी भाञ्जी’ भन्दै एक भिडियोमार्फत् बधाई दिएका हुन् ।
साथै उनले चाँडै नेपाल आएर भेट्ने वाचा पनि गरेका छन् । स्मिताको आमा गंगालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘प्यारी भाञ्जी स्मिता र सायुज्यलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना । बहिनी गंगा र सम्पूर्ण परिवारलाई भेट्न म चाँडै नेपाल आउनेछु । भेटमा मेरा बच्चाहरुलाई आफ्नो थप आर्शिवाद दिनेछु ।’
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्मितालाई शुभकामना सन्देश पठाएका थिए ।
मूलपानीस्थित नर्लिंग होटल एण्ट रिर्सोटमा आयोजना गरिएको विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा, पूर्वप्रधानमन्त्री माधव नेपालसहित कलाकारहरु हरिवंश आचार्य, जितु नेपाल, शिव श्रेष्ठ, सन्दिप क्षेत्रीलगायत उपस्थित भएका थिए ।
टिप्पणीहरू