‘फ्रेमवर्क फर बिआरआई’ सार्वजनिक, अमेरिकी सहायक मन्त्रीको भ्रमण ‘शंकास्पद’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच भएको बिआरआई फ्रेमर्वकको पूर्णपाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा ‘फ्रेमवर्क फर बिआरआई’को विस्तृत पत्र अपलोड गरेको छ ।
विस्तृत पत्रमा दुई देशबीच भएका सम्झौताको पृष्ठभूमी, सहकार्यका शर्त एवम् सिद्धान्त, उद्देश्य र प्राथमिक क्षेत्रबारे संक्षिप्तमा उल्लेख छ । बिआरआइ फ्रेमवर्कमा समेटिएका प्रधानमन्त्रीको गृहजिल्ला झापामा रंगशाला बनाउनेदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सिटी हाल निर्माणलगायत १० वटा परियोजना लेखिएको छ ।
८७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १७ गते बेइजिङ्ग जानुभएका प्रधानमन्त्री ओलीले भोलिपल्ट चिनियाँ राष्ट्रपति सि चिनफिङ र समकक्षी ली छ्याङसँग भेटवार्ता गर्नुभएको थियो । १९ गते बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएपछि प्रधानमन्त्री २० गते स्वदेश फर्कनुभएको हो ।
प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्केलगत्तै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले हिजोमात्रै अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा बिआरआई फ्रेमवर्कको पारदर्शितामाथि प्रश्न उठाएको बताइन्छ । उनले सम्झौताका पूर्णपाठ सार्वजनिक गर्न घुमाउरो भाषामा माग गरेको सत्तारुढ दलका नेताहरुले नै बताएका छन् ।
अमेरिकी सहाकय मन्त्रीले चासो राखेको भोलिपल्टै परराष्ट्र मन्त्रालयले बेइजिङमा भएको सम्झौता सार्वजनिक गर्नुलाई अर्थपूर्ण मानिएको छ । डोनाल्ड लु उनै हुन्, जसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनलाई लिएर विवाद हुँदा अमेरिकाबाटै प्रमुख पार्टीका शीर्ष नेतालाई टेलिफोन गरेर दबाब दिएको भनिएको थियो । यता, काठमाडौंस्थित अमेरिकी दूतावासले पनि प्रधानमन्त्रीको चीन भ्रमणअघि एमसीसीका विभिन्न व्यवस्थाबारे सामाजिक सञ्जालमा जानकारी गराएको थियो । उक्त कार्यलाई अप्रत्यक्ष रुपमा बीआरआईका प्रावधान पनि सार्वजनिक गरिनुपर्ने अमेरिकी मागको रुपमा एकथरीले लिएका थिए ।
यता एमाले नेता विष्णु रिजालले अस्ति आएर हिजो स्वदेश फर्केका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको आकस्मिक नेपाल भ्रमणबारे गम्भीर प्रश्न चिन्ह उठाएका छन् । उनले लुको नेपाल भ्रमण नै अपारदर्शी रहेको बताएपछि अनेक आशंका बढेको हो । उनले लेखेका छन्, ‘खासमा उहाँको नेपाल भ्रमण नै पारदर्शी छैन । नेपाल सरकारको निमन्त्रण बिना नै आफूखुशी यसरी आउनुको उद्देश्य नै अपारदर्शी छ । साथै, नेपालको छिमेक सम्बन्धका बारेमा टिप्पणी गर्नु अशोभनीय छ ।’
टिप्पणीहरू