बदनाम गर्नेले प्रमाण दिन नसकेको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भनेर भ्रम फिँजाइएको गुनासो गर्नुभएको छ । गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै प्रधानमन्त्रीले नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरिएको दावी गर्नुभयो । यस्तो भ्रम फिँजाउनेहरुलाई समातेर अनुसन्धान गर्दा बदनामको लागि बोलेको स्वीकार गर्ने गरेको पनि ओलीले बताउनुभयो ।
आफू सच्चाई र इमान्दारितामा अडिग रहेको जनाउँदै उहाँले त्यसअनुसारको अभ्यास र आचरणमा रहेको पनि जिकिर गर्नुभयो । ‘४–५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन्’, उहाँले भन्नुभयो, ‘तिनीहरुलाई समातेर कहाँ छ ल पुष्टि गर त भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् ।’
प्रधानमन्त्री ओलीले अब एउटा व्यक्तिलाई अनैतिक ढंगले कुर्सीमा बसाइदिएर जनता फेरि रैती हुन नसक्ने स्पष्ट पार्नुभयो ।
टिप्पणीहरू