प्यालेस्टाइनको पक्षमा पूर्वप्रधानमन्त्रीहरुको ऐक्यबद्धता

प्यालेस्टाइनको पक्षमा पूर्वप्रधानमन्त्रीहरुको ऐक्यबद्धता
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टाइनमाथि भइरहेको इजरायली हमला निन्दनीय रहेको बताउनुभएको छ ।

‘प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान’ को आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीबिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको छ ।

पछिल्लो चरणमा गाजामा भएको अत्याचार, नरसंहारको बिरोधमा आवाज उठाउन प्रचण्डले आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघमा यसविरुद्ध पटक–पटक प्रस्ताव पारित भएपनि इजरायलले अटेर गरेर प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको उहाँको भनाई छ । 

‘इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीविरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएको कुरा हामी सबैलाई थाहा छ । पछिल्लो चरणमा खासगरी प्यालेस्टाइनको गाजामा भएको अत्याचार, नरसंहारको पनि विश्वव्यापी रूपमा विरोध हुँदै आएको छ,’ प्रचण्डले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघमा पनि यसका बारेमा पटकपटक प्रस्तावहरू पारित हुने गरेका छन् तर ती सबैलाई अटेर गर्दै नरसंहार र नाकाबन्दीको निरंकुश तरिका अपनाइएको छ ।’

२१औं शताब्दीको सभ्य समाजमा पनि अमानवीय ढंगले अस्पतालमा बालबालिकादेखि निर्दोष र निरपराध मान्छेहरूको नरसंहार गरेको देख्नुपरेकोमा उहाँले दुःख व्यक्त  गर्नुभयो ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि इजरायली अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन सबैलाई आग्रह गर्नुभएको छ । सोही कार्यक्रममा उहाँले भन्नुभयो, ’न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको विरुद्धमा, फासिजमको विरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ ।’ 

प्यालेस्टाइनीमाथि इजरायलको आक्रमण क्रुरतापूर्ण रहेको जनाउँदै उहाँले निन्दा गर्नुभयो ।
 

टिप्पणीहरू