सरकारले रविमाथि प्रतिशोध साँधेको माओवादी अध्यक्षको ठहर

सरकारले रविमाथि प्रतिशोध साँधेको माओवादी अध्यक्षको ठहर
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । 

अदालतबाट दोषी ठहर नभएका र अध्याधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि गरिएको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमा प्रचण्डले लेख्नुभएको छ’, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न पनि गम्भीर आग्रह गर्दछु ।’

यसअघि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रहरीले दुर्व्यवहार गरेको भन्दै त्यसको निन्दा र भत्सर्ना गर्नुभएको थियो । कांग्रेस र एमाले नेताहरुको हकमा छानविन र अनुसन्धान नगरिएको तर लामिछानेमाथि अनुसन्धानको नाममा अस्वभाविक एवम् अपमानजनक व्यवहार गरिएको उहाँको आरोप छ ।

‘म देश बाहिर रहेकै अवस्थामा लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नुपर्दा ज्यादै दुःख लागेको छ’, श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’
 

टिप्पणीहरू