चिनियाँ ऋण नलिने पुरानै अडानमा कांग्रेस

चिनियाँ ऋण नलिने पुरानै अडानमा कांग्रेस
सुन्नुहोस्

प्रमुख सत्तारूढ नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत ऋण स्वीकार नगर्ने अडान दोहोर्याएको छ । 

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा कायमै राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदानसमेत भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। 

‘बीआरआई सन्दर्भमा पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने, ऋण स्वीकार नगर्ने भनेको थियो । त्यसैबमोजिम चीनबाट आएको प्रारम्भिक प्रस्ताव थियो’, उनले भने, ‘त्यसमा सरकारले र पार्टीकोतर्फबाट पनि भनाइ राख्यौँ । हाम्रो भनाइअनुसार नै सरकारले चिनियाँ सरकारसमक्ष आफ्ना धारणा प्रस्तुत गर्‍यो ।’

बैठकपछि उनले कार्यान्वयन समझदारी फ्रेमवर्कमा नेपालको राष्ट्रिय आवश्यकता, हित र अनुकूलताका विषयवस्तुलाई मात्रै समावेश गर्ने गरेर कुरा अघि बढेको पनि बताए । ‘त्यसमा ग्रान्ट फाइनाइन्सिङ नभएर एड फाइनाइन्सिङ आयो भन्ने सार्वजनिक चर्चा छ’, महतले भने, ‘एड फाइनाइन्सिङमा ग्रान्ट फाइनाइन्सिङ स्वाभाविक रुपमा पर्ने भाइहाल्यो ।’

उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने स्पष्ट पारे ।

‘ती परियोजना सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने । जुनमा चीनले अनुदान दिन तयार हुन्छ, ती आयोजना अगाडि बढ्छन्, त्यसैअनुसार अगाडि जानुपर्छ । हाम्रो भनाइ अहिले पनि अनुदान सहयोग मात्रै लिने हो', महतले भने । 

अहिलेको सत्ता गठबन्धन बन्नु ठिक एक दिनअघि पदाधिकारी बैठक बोलाएर बिआरआई अन्तर्गत चिनियाँ ऋण स्वीकार नगर्ने निर्णय गरेको कांग्रेस सोही अडानमा अडिग रहँदै आएको छ । प्रधानमन्त्रीको चीन भ्रमणअघि यहि विषयमा सरकारको नेतृत्व गरिरहेको एमालेसँग कुरा नालिलेपछि साझा धारणा बनाउन दुई दलले कार्यदल बनाएर छलफल गरेका थिए ।

टिप्पणीहरू