केही समयपछि भारत भ्रमण हुन्छ : प्रधानमन्त्री

केही समयपछि भारत भ्रमण हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सफल भएको बताउँदै अब भारत जाने जानकारी दिनुभएको छ । गृह जिल्ला झापामा बनाइएको १८ तले व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्दै उहाँले केही समयपछि भारत भ्रमणमा जाने बताउनुभएको हो ।

चीन भ्रमणमा नेपालको सही दृष्टिकोण प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो । ‘चीन भ्रमणबाट हामीले देशको हितको पक्षमा उपलब्धि लिएका छौं’, उहाँले भन्नुभयो, ‘हुन त मान्छेहरूले पत्याएका छैनन्, तर म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री भएपछि ज्यादै व्यस्त भएको जनाउँदै थप्नुभयो, ‘देशको अर्थतन्त्र धेरै तल गिराइएको रहेछ । ढुकुटीमा थोपो पैसा छैन । त्यस्तो अवस्थामा सरकार पुगेको रहेछ । त्यस स्थितिबाट फर्काउनका लागि धेरै मेहनत गर्नुपर्ने थियो । त्यसमा लागिरहेको छु ।’ 

प्रधानमन्त्री ओलीले देश चलाउन नीति र सिद्धान्त चाहिने पनि तर्क गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै, ‘कोही भ्रममा नपरे हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ,‘देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन ।’

प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार रुपैयाँको लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको टावरलाई नेपालकै अग्लो भवन मानिएको छ । यद्यपि, कपिपयले भने टावरमा गरिएको लगानी उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको आलोचना गर्दै आएका छन् ।

टिप्पणीहरू