पत्रकारमाथि कारबाहीको माग गरिएको धराने मेयरको पत्र सिंहदरबारमा

पत्रकारमाथि कारबाहीको माग गरिएको धराने मेयरको पत्र सिंहदरबारमा
सुन्नुहोस्

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गले आफूविरुद्ध समाचार लेख्ने र सामाजिक सञ्जालमा सेयर गर्ने पत्रकारलाई कारबाहीको माग गर्दै संघीय सरकारलाई पत्र लेखेका छन् । गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हिमालखबर खोज पत्रकारिता नेपालका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ, सुनसरीको अध्यक्ष जनक ऋषिलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग छ । 

‘नक्कली माओवादी बनेर चन्दा असुलेको’ भनि भ्रमपूर्ण र झुठ्ठो समाचार लेखेर उनीहरुले मेयर पदको अपमान गरेको साम्पाङ्गको आरोप छ । उनीहरुलाई कारबाही गरी लोकतन्त्रलाई निकृष्ठ र बद्नाम गर्ने कृत्य रोक्न भनिएको छ । त्यस्तै, आफूजस्तो जनताको सेवामा घोटिइरहने जनप्रतिनिधिलाई निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन पनि उनले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका छन् । 

‘देशकै शान्ति, सुरक्षा र सुशासनको जिम्मेवारीमा रहनुभएको गृहमन्त्रीबाट प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानी हुनेगरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल् ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवैलाई पार्टीगत आबद्धता नहेरि, नसम्झी निष्पक्ष रुपमा कारबाही होस्, ताकि मजस्तो दिनरात जनताको सेवामा लागिरहने, घोटिइरहने जनप्रतिनिधिहरुले निर्वाध रुपमा काम गर्न सकियोस्’,पत्रमा उल्लेख छन् । 

पत्रकार दाहालले मंसिर १४ गते उनीविरुद्ध समाचार लेखेका थिए । त्यसपछि मेयर साम्पाङ्गले सामाजिक सञ्जालमा स्ट्याट्स लेखेर उनलाई धम्क्याएका हुन् । उनले ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनेछ भने मेरो नाम हर्क साम्पाङ्ग होइन्’ भनी लेखेका थिए । 

नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्क्याइएकोमा आपत्ति जनाएको छ । पत्रकारितालाई हतोत्साहित र त्रसित बनाएको उल्लेख गर्दै महासंघले मेयरमाथि नै कारबाहीको माग गरेको हो ।

टिप्पणीहरू