सबै श्रेणीहरू

रवि लामिछानेको उपचार गराउन अदालतको आदेश

रवि लामिछानेको उपचार गराउन अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी संस्था ठगीका आरोपित उनीमाथि थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई आज छैठौं पटक म्याद थपिदिएको हो । लामिछानेलाई थुनमा राख्न प्रहरीले १३ दिन मागेकोमा न्यायाधीश हिमलाल बेल्वासेले चार दिन मात्र दिएको बताइन्छ । 

अदालतले लामिछानेको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन पनि आदेश दिएको छ । हिरासतमा राख्ने क्रममा म्याद थप गरिएका व्यक्तिहरुको मानवअधिकार उल्लंघन हुने कार्य नगर्नु, नगराउनु भनी अदालतले जिल्ला प्रहरी कार्यालयको नाममा आदेश गरेको छ ।

कात्तिक २ गतेदेखि हिरासतमा रहेका लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि अनुसन्धान चलिरहेको छ । यसबीचमा उनीसँग सूर्यदर्शनसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा भएको ठगीबारे पनि बयान लिइएको छ । उता, वीरगञ्जको  सानो पाइला सहकारीमा भएको ठगी सम्बन्धी उजुरीमा पनि प्रहरीले गत साता पक्राउ पुर्जी जारी गरेको छ ।