बाबुरामका मान्छे भटाभट माओवादीमा

बाबुरामका मान्छे भटाभट माओवादीमा
सुन्नुहोस्

डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) का कार्यकर्ता धमाधम माओवादी केन्द्रमा फर्कन थालेका छन् । पार्टी एकताबारे उत्पन्न विवादका कारण महिन्द्रराय यादवको नेतृत्वमा ठूलोपंक्ति विद्रोहमा उत्रँदासमेत भट्टराईतिरै अडिएका कार्यकर्ताले माओवादी रोज्न थालेका हुन् । 

यसैबीच उक्त पार्टीको प्रवास विभाग सचिव विनोद श्रेष्ठ ‘क्रान्ति’ माओवादी केन्द्रमा मिसिएका छन् । बाबुरामको गृहजिल्ला गोरखाका श्रेष्ठ लामो समयदेखि पत्रकारितामा समेत सक्रिय रहँदै आएका छन् । प्रवासमा नेसपाको खम्बा मानिएका उनले माओवादीले हिजो काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पुरानै पार्टीमा फर्किएको घोषणा गरे ।

विगतमा भट्टराईको नेतृत्वमा वैकल्पिक शक्ति निर्माणको अभियानमा साथ दिएको तर समयक्रममा पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेपछि माओवादी केन्द्रमा फर्केको उनले बताए ।

यता, नेसपानिकट शिक्षक समाजको सिंगो कमिटी नै माओवादीमा समाहित भएको छ । हिजो काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले सबै तहका कमिटी माओवादीको एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएको घोषणा गरे ।

त्यसअघि नेसपानिकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा मिसिएका उनी दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय छन् । पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्यसमेत भइसकेका उनले बाबुरामलाई छाडेपछि प्रेस नेपाल छिन्नभिन्न भएको छ । 

पछिल्लो समय माओवादी केन्द्रसँग पार्टी एकताको विषयलाई लिएर नेसपाभित्र चर्को विवाद छ । अध्यक्ष डा. भट्टराई कुनै पनि हालतमा एकता गर्न नहुने अडानमा रहँदा तल्लो तहका कार्यकर्ता भने माओवादी घटकहरु एकताबद्ध हुनुपर्ने पक्षमा देखिन्छन् । जनयुद्धकालदेखि बाबुरामको निकट सहयोगी रहेका विश्वदीप पाण्डे पनि केही महिनाअघि नेसपा छोडेर माओवादीमा फर्किएका थिए ।
 

टिप्पणीहरू