विमानस्थलमा हुने गरेको भिभीआईपीहरुको ताँतीमा कटौती

विमानस्थलमा हुने गरेको भिभीआईपीहरुको ताँतीमा कटौती
सुन्नुहोस्

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको विदेश भ्रमणको क्रममा हुने स्वागत तथा बिदाइका लागि विमानस्थलमा लाग्ने भिभीआइपीको भीड अब हट्ने भएको छ । गृह मन्त्रालयले विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन, ०८१) कार्यविधि संशोधन गर्दै उनीहरुको स्वागत र बिदाईमा एयरपोर्ट जानेहरुको संख्यामा कटौती गरेको छ । 

संशोधित कार्यविधिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा–आउँदा विमानस्थालमा स्वागत तथा बिदाईमा जाने गरेका सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत केही विशिष्ट पदाधिकारीलाई अब जान नपर्ने भएको छ । राष्ट्रपतिको हकमा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधान सेनापति, राष्ट्रपति कार्यालयका सचिव, परराष्ट्र मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख विमानस्थलमा उपस्थित हुने छन् । 

प्रधानमन्त्रीको स्वागत तथा बिदाईका लागि मुख्य सचिव, प्रधानसेनापति, परराष्ट्र मन्त्रालयका सचिव, सञ्चार मन्त्रालयका सचिव, तीनवटै प्रहरी संगठनका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख उपस्थित हुनेछन् । यसअघि सभामुख र राष्ट्रिय सभाका अध्यक्ष पनि विमानस्थल जानुपर्ने व्यवस्था थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमणका लागि भोलि बेइजिङ्ग प्रस्थान गर्दै हुनुहुन्छ । चिनियाँ समकक्षी लि छ्याङको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बिहान ११ बजेको समयमा चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ । नयाँ कार्यविधिअनुसार भोलि प्रधानमन्त्री ओलीको बिदाइका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्ने छैन ।

टिप्पणीहरू