जनताको बचत, प्रेमिकामा खर्लप्पै खपत
सर्वसाधारणले गाँस काटेर जम्मा पारेको करोडौँ रकम कुम्ल्याएर विदेश भागेका गितेन्द्रबाबु (जिबी) राईले ‘गर्लफ्रेण्ड’ का नाममा समेत सम्पत्ति थुपारेको भेटिएको छ । सहकारी ठगीको रकमबाट ठाउँ–ठाउँमा करोडौंको जग्गा–जमिन जोडेका उनले शीतल श्रेष्ठका नाममा दरबारमार्ग र सिनामंगलमा भव्य ‘अर्गानिक चुलो’ रेष्टुरेण्ट चलाएको अनि प्रेमिका लीला पछाईका नाममा ललितपुरको खुमलटारमा १ रोपनी २ आना जग्गामा निर्मित भव्य बंगला खरिद गरेको पाइएको हो ।
सहकारी ठगीको अनुसन्धानका क्रममा शंकास्पद कारोबार देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिबीको चल–अचल सम्पत्ति खोजी गरिरहेको छ । सोही क्रममा चितवनस्थित सहारा सहकारीको पैसाले खुमलटारस्थित एक हाउजिङभित्र साढे २ तल्ले घर जिबीले पछाईको नाममा राखेको पत्ता लागेको सिआइबी स्रोतले जनाएको छ । ब्वाईफ्रेण्डले किनिदिएको खुमलटारको उक्त घरमा बस्दै आएकी उनी पर्वतकी हुन् ।
जिबीसँग मिलेर सहकारी ठगीको रकमबाट चलअचल सम्पत्ति खरिद र शेयर कारोबारमा लगानी गरेको पाइएपछि पक्राउ परेकी पछाई अहिले रवि लामिछाने र छविलाल जोशीसँगै कास्की प्रहरीको हिरासतमा छिन् । उनको नामबाट क्रिप्टोमार्फत ३ करोड रकम विदेश पुगेको पनि अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नुअघि उनी प्रेमी जिबीलाई भेट्न मलेसियासमेत पुगेकी थिइन् ।
देशभर सहकारीको सञ्जाल खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिलगायत विभिन्न नेटवर्क कम्पनीमा अवैध लगानी गरेको जिबीमाथि आरोप छ । संसदीय छानबिन विशेष समितिले पनि सात वटा सहकारीको अर्बौं रकम घोटालामा उनलाई मुख्य दोषी ठह¥याएको छ । आफूविरुद्ध प्रहरीमा जाहेरी पर्न थालेपछि भागेर मलेसिया पुगेका जिबीले पछिल्लो समय नेपाल फर्किने वातावरण बनाइदिए जायजेथा बेचेर बचतकर्ताको सम्पूर्ण रकम फर्काउने विश्वास दिलाउँदै सरकारी स्रोतसँग सुरक्षाको प्रत्याभूति मागेको सूचना चुहिएको छ । तर, उनको नामको मात्र नभई बेचिसकेको सम्पत्तिसमेत धमाधम रोक्का राख्न थालिएको छ ।
जिबीका नामबाट अर्को व्यक्तिलाई बेचेको ललितपुरको भैंसेपाटीस्थित २३ रोपनी ७ आना जग्गा रोक्का गरिएको प्रहरी स्रोतले बताएको छ । चितवनको सहारा सहकारी संस्थाको रकमबाट किनेको उक्त जग्गा जिबीले आफूविरुद्ध प्रहरी अनुसन्धान हुने संकेत पाएलगत्तै सुन तस्करीमा समेत मुछिएका बाजेको सेकुवा कर्नर रेष्टुरेण्टका मालिक चेतन भण्डारीसहितको एक कम्पनीलाई बेचेका थिए । संसदीय विशेष छानबिन समिति गठन हुनुअगावै फेला परेको उक्त जग्गा बैंकमा धितो राखेर भण्डारीको टोलीले ऋण लिएको पाइएको छ । सहकारी ठगीबाट जिबीले लिएको र सस्तोमा किनबेच भएको करिब २० करोड मूल्यको उक्त जग्गा अहिले रोक्का छ ।
जिबी समूह जोडिएका सहकारी घोटालाको एकमुष्ठ अनुसन्धान गरिरहेको सिआइबीले यस्ता चल–अचल सम्पत्तिको थप खोजविन गरिरहेको छ । ‘पाँच वटा सहकारीको चेनमा अनुसन्धान गरिरहेका छौँ, सम्पत्ति खोज्ने क्रम चलिरहेको छ, तर अहिले सबै कुरा बोलिहाल्न मिल्दैन’, स्रोतले भन्यो ।
यता, पोखराको सूर्यदर्शनसहित पाँच वटा सहकारीको ६५ करोड रूपैयाँ गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका जिबी राई समूहका रवि लामिछानेको पनि सम्पत्ति खोजी हुँदैछ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनले आरोप अस्वीकार गरिरहँदा जिबीसँग जोडिएका अन्य कारोबार र सम्पत्तिबारे सूक्ष्म रूपमा खोजविन भैरहेको हो । अमेरिकामा रहेका रविका दाहिना हात मोहनजंग थापालाई हुण्डीमार्फत पठाएको भनिएको १२ करोडबारे पनि अनुसन्धान अघि बढिसकेको सिआइबी स्रोतले बताएको छ । ‘बैंकिङ्ग च्यानल बाहिरको कारोबार भएकाले हुण्डीको रकम त अहिले ठ्याक्कै देखिंदैन । तर, उनीहरूको सम्पत्ति खोज्दै जाँदा यस्ता अवैधानिक कारोबार पत्ता लागिहाल्छ’, स्रोतले भन्यो ।
प्रहरीका अनुसार त्यसैका लागि जिबी समूहका सबै सहकारीको अनुसन्धानमा रविलाई पनि तानिएको हो । शुरुमा उनीविरुद्ध सूर्यदर्शन सहकारी घोटालाको आरोप थियो । तर, बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा पनि उनको बयान लिइएको छ भने स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानका लागि काठमाडौँ ल्याएर बयान लिइँदै गरेको अवस्था छ । चितवनमा पूरक जाहेरी परेकाले छिट्टै प्रक्रिया अघि बढ्दैछ । लगत्तै वीरगञ्जस्थित सानो पाइला सहकारीको बचत अपचलनमा पनि जाहेरी पर्ने सम्भावना छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउने तयारी छ । त्यसैमा अनुसन्धान केन्द्रित गरेको प्रहरीले क्रमशः प्रमाण संकलन गर्दैछ । अनुसन्धानको प्रारम्भिक चरणमा आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका लामिछाने अनुसन्धान अधिकृतको ‘क्रस क्वेश्चन’ पछि ‘गल्दै’ गएको बुझिएको छ । शुरुमा उनले अरु कसैले आफ्नो नाममा चेक काटेको र खातामा पैसा हालिदिएको विषयमा आफू जिम्मेवार नहुने जिकिर गर्दै आएका थिए । संसदीय विशेष समितिमा पनि इन्कारी बयान थियो । त्यसबेला आफ्नो खातामा रकम आएको पूर्णतः अस्वीकार गरेका उनी अहिले भने ‘कसले हाल्दियो थाहा छैन’ भन्नेमा आइपुगेको प्रहरी स्रोत बताउँछ ।
अनुसन्धानकर्ताले ‘हस्ताक्षर कसको हो ?’ भनेर सोध्दा शुरुमा ‘मलाई थाहा छैन’ भनेका लामिछानेको ‘हस्ताक्षर भेरिफाइ’ गराइएको स्रोतले जानकारी दिएको छ । यसबारे प्रश्न गर्दा ‘मलाई थाहा छैन’ भनेका उनलाई अनुसन्धान अधिकृतले ‘खाता कसको हो ?’ भनेर सोधेका थिए । जवाफमा उनले ‘खाता त मेरै हो’ भनेपछि ‘यत्रो पैसा आएको कुरा के हो ?’ भनेर सोधिएको थियो । लामिछानेले ‘कसले हाल्दियो मलाई थाहा छैन’ भनेपछि भौचर भर्नेसंग छुट्टै सोधपुछ गरिएको र भौचर भर्नेले जिबीको निर्देशनमा रविको खातामा रकम जम्मा गरेको खुलाएपछि ‘हस्ताक्षर भेरिफाइ’ गरिएको सिआइबी स्रोतले खुलाएको छ ।
यस्ता मुद्दामा प्रतिवादीको इन्कारी बयानले मात्र निर्दोष ठहरिने आधार बन्न सक्दैन । संगठित अपराध अनुसन्धानमा इन्कारी बयानलाई सामान्य रूपमा लिइन्छ । अनुसन्धानकर्ताले परिस्थितिजन्य प्रमाण, प्राप्त सबुत (भौतिक, डिजिटल र फरेन्सिक), अरु मान्छेले दिएका बयान र सबुत भेरिफिकेसनबाट त्यसलाई भौतिक प्रमाणमा जोडेर प्रमाण संकलन गरेपछि प्रतिवादीको बयान स्वतः खण्डित हुने भएकाले आरोप इन्कार गर्दैमा मुद्दा कमजोर नहुने कानुनविद्हरूको भनाइ छ ।
एक जना वरिष्ठ अधिवक्ताले एउटा पुरानो घटना स्मरण गर्दै भने– केही वर्षअघि खोटाङमा एकजना दिउँसै मान्छे काटेर खुकुरीसहित आफैँ प्रहरीमा पुगेको थियो । एउटाले साह्रै निहुँ खोज्यो, छयाक्क हानेको, टाउको छिनेर खोल्सातिर गयो, गिंड त्यहाँ राखेको छु, खुकुरी यही हो, मलाई गिरफ्तार गरियोस् भन्दै आएको उसलाई तत्काल हिरासतमा लिएर प्रहरीले अनुसन्धान अघि बढायो । संगठित अपराधको अनुसन्धानचाहिँ फरक कुरा हो ।
टिप्पणीहरू