विदेशबाट नफर्केका शिक्षकहरुको विवरण खोजिँदै

विदेशबाट नफर्केका शिक्षकहरुको विवरण खोजिँदै

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले अध्ययन बिदामा विदेश गएर नफर्केका शिक्षक–कर्मचारीको विवरण संकलन गर्न थालेको छ । 

बिदाको दुरुपयोग गर्दै अधिकांश शिक्षक–कर्मचारी उतै बसेपछि त्रिविले उनीहरुको विवरण खोज्न लागेको हो । त्रिविअन्तर्गतका सबै क्याम्पस, कार्यालय एवं सम्बद्ध निकायहरुलाई पत्राचार गर्दै शिक्षाध्यक्षको कार्यालयले अध्ययन बिदासम्बन्धी अभिलेख १ -० दिनभित्र इमेलमार्फत उपलब्ध गराउन निर्देशन दिएको छ । 

‘अध्ययन बिदा उपभोग गरी अध्ययन सकेर कबुलियतनामा अनुसार काममा फर्केको वा नफर्केको र काम गरेको वा नगरेको बारेमा सही विवरण दुरुस्त पार्न अत्यावश्यक देखिएकोले त्यस क्याम्पस–कार्यालय–विभाग एवं सम्बद्ध निकायहरुका शिक्षक तथा कर्मचारीहरुको पहिलेदेखि हालसम्मकै अध्ययन बिदासम्बन्धी अभिलेख एवं सबै यथार्थ विवरण तपसिलको विवरण तालिकानुसार एमएस वर्ड वा एमएस एक्सलमा तयार गरी यस महाशाखाको इमेलमा सफ्टकपी १० दिनभित्र उपलब्ध गराइदिनुहुन...’,पत्रमा उल्लेख छ । 

त्यस्तै, समयमै विवरण उपलब्ध नगराएमा त्यसको जिम्मेवारी सम्बन्धित निकायको प्रमुखले लिनुपर्ने महाशाखाको चेतावनी छ।

त्रिविमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई वृत्तिविकास एवं दक्षता तथा योग्यता अभिवृद्धिको लागि अध्ययन बिदाको सुविधा दिँइदै आइएको छ । सो अध्ययन बिदाको दुरुपयोग गर्दै शिक्षक तथा कर्मचारीहरु विदेशमै लुकेर बस्ने गरेका छन् ।
 

टिप्पणीहरू