‘पूर्णबहादुरको सारङ्गी’ मा रुवाबासी, ‘टोपबहादुरको सारङ्गी’मा सबै खुशी

‘पूर्णबहादुरको सारङ्गी’ मा रुवाबासी, ‘टोपबहादुरको सारङ्गी’मा सबै खुशी

महान दार्शनिक हेनरी डेभिड थोरोले भनेका थिए, ‘बालबालिकाले प्रत्यक्ष अवलोकनबाट जे सिक्छन्, त्यो कक्षाकोठाको बेञ्च र बोर्डबाट सिक्दैनन् ।’ अर्थात, सकेसम्म बालबालिकाहरुलाई प्रयोगात्मक ढंगबाट शिक्षण गर्नु/गराउनुपर्ने उनको आशय हो । 

यतिखेर नेपाली सिनेमा हलहरुमा तहल्का मच्चाइरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले ठूला दर्शकलाई मात्र होइन बालबालिकामा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । हालसम्म ३७ करोड रुपैयाँ उठाइसकेको यस चलचित्रको चर्चाले खासगरी सारंगी के हो ? यो बाजा कसरी विकासित भयो ? कसरी बजाइन्छ ? यसको धुन कस्तो हुन्छ ? लगायतका जिज्ञासा बालबालिकामा उत्पन्न गराएको छ । 

यसैबीच कीर्तिपुरको ट्याङ्लाफाँटस्थित वर्णमाला प्रि–स्कुलले बालबालिकालाई सारङ्गीसँग साक्षात्कार गराएको छ । दाङ घर भएका टोपबहादुर गन्धर्वले अस्ति दिउँसो करिब ५० जना बालबालिकालाई सारङ्गीको मीठो धुन र आफ्नो आवाज सुनाएका हुन् ।

 त्यसो त, विद्यालयले योजना बनाएर बालबालिकालाई टोपबहादुरसँग भेट गराएको भने होइन । टोपबहादुरलाई विद्यालय परिसरमै सारङ्गी बजाउँदै हिँडिरहेको देखेपछि अवसर जुराइएको थियो । 

शिक्षणको क्रममा आकस्मिक अवसरको सदुपयोग गर्न पाउँदा खुशी लागेको विद्यालयकी सहसञ्चालिका सृष्टि अर्याल बताउँछिन् । उनका अनुसार साना बालबालिकाले टोपबहादुरसँग सारङ्गीबारे रमाइला जिज्ञासा राखेका थिए । 

‘उहाँ (टोपबहादुर) स्कुलकै अघिबाट हिँडिरहेको देखेपछि हामीले भित्रै बोलाएर बालबालिकालाई भेटाएका हौँ’, उनले भनिन्, ‘बालबालिकाले पनि निकै चाखलाग्दो तरिकाले अवलोकन गरे ।’

सामान्यतया प्रि–स्कुलमा अध्ययन गर्ने बालबालिकाको उमेर सानै हुने भएकाले सारङ्गी देखेपछि अनौठो मान्नसक्ने अनुमान थियो । तर टोपबहादुरलाई भेटेपछि बालबालिकाहरु मन्त्रमुग्ध भएर टोलाएका थिए । केहीले सारङ्गी नै स्पर्श गरेर अनुभूत गरे । टोपबहादुरले पनि बालबालिकासँग खुशी साटेका थिए । 

सहसञ्चालिका अर्याल थप्छिन्, ‘बालबालिकाको उमेर सानै हुने भएकाले चलचित्र देखाउन लगिहाल्ने अवस्था छैन, तर सारङ्गी देखेपछि बालबालिकाहरुमा एउटा कौतुहलता देखियो । कहिलेकाँही यसरी पनि सिकाउन सकिन्छ भने हामीलाई महशुस भयो । आगामी दिनहरुमा पनि समय मिलाएर यस्तै अभ्यास गर्नेछौं ।’

अपर्झट आयोजित सांगीतिक कार्यक्रमपछि विद्यालय परिवारले टोपबहादुरलाई पारिश्रमिकसहित सम्मान गरेर बिदाइ गरेको बताइन्छ ।

 

 

टिप्पणीहरू