समानुपातिक सांसदलाई सिध्याउने सुर
जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ देवकोटालाई पार्टीबाट निश्कासन गरी सांसद पद खुस्काउन लागेजस्तै केही महिनाअघि बागमती प्रदेशमा दुई सिटमात्रै भएर पनि मुख्यमन्त्री खान खोजेको र शैलेन्द्रमान बज्राचार्यलाई एकचोटि मन्त्री खुवाएको हाम्रो नेपाल पार्टीले पनि यस्तै प्रयास गरेको पाइएको छ ।
सो पार्टीले समानुपातिककी सरिता खड्गीलाई पार्टीको हित र अनुशासनविरुद्ध काम गरेको बहानामा फिर्ता बोलाएर अर्कै व्यक्तिलाई माननीय बनाउन निर्वाचन आयोगसमक्ष पत्राचार गरेको थियो । निर्वाचन आयोगले मनासिव कारण र प्रक्रिया नपुगेको हुँदा सूचीको पुछारतिर रहेको अर्कै व्यक्तिलाई सांसद बनाउने प्रयासमा लगाम लगाएको थियो ।
त्यसबखत हाम्रो नेपाल पार्टीका अध्यक्ष निर्वाचन आयोगमा समानुपातिक बन्द सूचीका नामहरू हटाई सातौं नम्बरको पात्रलाई माननीय बनाइदिन बहादुर भवन धाएका थिए । अध्यक्ष अनन्तराज घिमिरेले समानुपातिक सांसदका रूपमा क्रियाशील खड्गीलाई राजीनामा दिलाएपछि सो पदमा अर्कैलाई लैजाने तयारी थियो । र, बन्दसूचीको नाम फेर्ने क्रममा अन्य व्यक्तिको नाम पूरै हटाएको थियो ।
यसैकारण सांसद मरे, पागल भए वा अन्य कुनै विपद्का कारण पद खाली हुन जाँदा कसलाई विकल्पमा अघि सार्ने भन्ने स्पष्ट उल्लेख नभएको र खड्गीलाई हटाउनुपर्ने कारण मनासिव नभएको, समानुपातिक सांसदको मृत्यु भएमा उपनिर्वाचनको व्यवस्था पनि नभएकाले अहिले बन्दसूचीलाई नै फेर्न नमिल्ने भनेसँगै उनको पद जोगिएको थियो । लौरो चुनाव चिह्न भएको उक्त पार्टीबाट शैलेन्द्रमान बज्राचार्य प्रदेशको पर्यटन, संस्कृति तथा सहकारी मन्त्री भएका थिए । यो पार्टी पनि तीन वर्षअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो ।
यदि यस्तै चलखेलबाट समानुपातिक सूचीको एक नम्बरका व्यक्तिको अध्यक्षसँग खटपट शुरु हुँदा पार्टीलाई रकमकलम बुझाएर चार नम्बरका पात्रले इच्छा जाहेर गरेमा कुनै पनि बहानामा फिर्ता बोलाउन सक्ने खतरा छ । यस्तो बेला बन्दसूची फेरबदल गर्ने नाममा समानुपातिक सांसद पद नै किनबेच हुन सक्ने अवस्था पनि उत्तिकै छ ।
त्यसैले समानुपातिक सांसदका प्रावधानबारे छलफल गर्नुपर्ने बेला आएको छ । अन्यथा समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई दलका नेताले तजबिजी अधिकारका रुपमा प्रयोग गरी आर्थिक खेलोफड्को बनाउने सम्भावना प्रवल छ । विगतमा राजेन्द्र खेतान, विनोद चौधरी, राज्यलक्ष्मी गोल्छाहरु पैसा तिरेरै माननीय भएका थिए।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू