सिन्धुुपाल्चोकमा बाढीको बितण्डा शुरु

सिन्धुुपाल्चोकमा बाढीको बितण्डा शुरु
सुन्नुहोस्

सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा बाढीले यो वर्ष पनि वितण्डता मच्चाएको छ । गएराति अबिरल वर्षासँगै इन्द्रावती नदीमा आएको बाढीले चिन्डे जतन झोलुङ्गे पुल बगाएको छ । 

मेलम्ची–भोताङ सडक खण्डको अधिकांश भागमा क्षति पुगेको छ । बाढीले तटीय क्षेत्रको खेतियोग्य जमिन र घाटसमेत बगाएको छ । चिनियाँपसल, माझीरुम्टी, तिपेनी, खस्रबालुवा र खाल्डेखोला जस्ता बस्तीहरु उच्च जोखिममा छन् भने तिपेनीस्थित ड्याम र अस्पताल पनि जोखिममा परेको बताइएको छ ।

बाढीले सडक पूर्णरुपमा क्षति पुर्याएपछि पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक सञ्जालबाट पूर्णरुपमा बिच्छेद भएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । बाढीका कारण इन्द्रावती नदीका अधिकांश सडक र पुलहरु बगाएकाले  क्षति निकै भएको अध्यक्ष लामाले जानकारी दिए ।

बाह्रबिसेस्थित खाक्दलमा रहेको बेलिब्रिज पनि बगेको छ । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे तातोपानी सडक खण्डमा रहेको बेलिब्रिज गएरातिको अविरल वर्षापछिको बाढीले बगाएको हो ।

बाह्रविसे नगरपालिका वडा नम्बर ३ र ५ जोड्ने बेलिब्रिज बगाएपछि तातोपानी नाकासम्म पुग्ने सडक अवरुद्ध भएको छ । बाढीले खाक्दल बस्तीमा सामान्य क्षति पुर्याएको छ भने सडक धेरै ठाउँमा भत्काएको छ । बाढीमा मानवीय क्षतिको खबर प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

टिप्पणीहरू