धादिङका गाउँ जोखिममा,जमिन भासिन थाले

धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर १ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राती वर्षातसँगै गाउँमुनीबाट झर्न शुरु भएको पहिरोले पुरै गाउँ तानिने खतरा बढेको हो ।
‘चारैतिरबाट पहिरोले घेरेको छ । गाउँ भन्दा मुनीबाट जताततै छियाछिया बनेको छ । एउटा घरको ट्वाइलेट बगिसक्यो’, स्थानीय पूर्ण तामाङले भने–‘राती १२ बजेतिर ठूलो पानी पर्यो,घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौं ।’ गाउँमुनीबाट शुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको तामाङ्गले जानकारी दिए ।
मकैबारीको भित्रभित्रै चिरा परेको छ । बजारको जस्तै सबै जोडिएको झुरुप्प परेको घरहरु छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरु छ । पहिरोको मुखमै परेको नोर्बु लामासहित केहीले राती नै घर खाली गरेका छन् ।
वस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन् । स्थानीयहरुका अनुसार जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सँकेत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बाहरु समेत रहेकोले झन खतरा बढेको छ । अन्नपात,लत्ताकपडा र महत्वपूर्ण सामानहरु घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयहरुले बताएका छन् ।
किचेत गाउँमा विशेषगरी तामाङ समुदायको बसोबास छ । जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ । बर्खा लागेपछि यहाँ मोटर पुग्दैन ।
टिप्पणीहरू