मुर्राको वीर्य वितरण शुरु, अमेरिकी साँढेको साउनमा
भैँसीको नश्ल सुधारका लागि भारतबाट नेपाल ल्याइएका मुर्रा जातको राँगाका वीर्य वितरण थालिएको छ । केही वीर्य भने आगामी साउनमा वितरण गरिने बताइएको छ ।
गत वर्ष जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा भारतले १५ वटा मुर्रा राँगा उपहारको घोषणा गरेको थियो । करिब छ महिनापछि ती राँगालाई पञ्जाबबाट स्थलमार्ग हुँदै नेपालगञ्ज ल्याइएको थियो ।
तीमध्ये सात वटालाई पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा राखिएको छ भने पाँच वटालाई लहान र तीन वटालाई बाँकेको खजुरास्थित गौघाटमा राखिएको छ ।
हालसम्म संकलन भएको वीर्य किसानलाई वितरण गरिसकेको जानकारी दिइएको छ । केही वीर्य साउनदेखि वितरण गरिने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए । उनका अनुसार बाँके र लहानमा राखिएका राँगाको वीर्य वितरण गरिएको हो ।
‘पोखरामा राखिएका राँगाको वीर्य संकलन भइरहेको छ’, उनले भने, ‘साउनको पहिलो हप्तादेखि किसानलाई वितरण हुन्छ ।’
पछिल्लो समय भैँसीपालन पेशा नै धरापमा पर्दै गएको बेला यस प्रकारको नश्ल सुधारले किसानलाई प्रोत्साहन गर्ने विभागको विश्वास छ । सामान्यतयाः नेपालमा पाइने स्थानीय भैँसीले एक बेतमा औसत एक हजार लिटर दूध दिन सक्छन् । तर मुर्रा राँगाबाट नश्ल सुधार भएमा तीन गुणा (औसतमा तीन हजार लिटर) दूध उत्पादन गर्न सकिने पशुविज्ञहरुको भनाई छ ।
यस्तै, विभागले मुर्रा राँगाको वीर्यसँगै अमेरिका र कोरियाबाट ल्याइएका साँढेको वीर्य किसानलाई वितरणको तयारी पनि थालेको छ ।
टिप्पणीहरू